थप समाचारबिहीबार, साउन १५, २०७१
वीरमा अख्तियारको छापा
आवासीय चिकित्सकहरुको आन्दोलनका कारण ५ दिनदेखि बन्द रहेको वीर अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारी कागजातहरु नियन्त्रणमा लिएको छ ।
आर्थिक अनियमिततासम्बन्धी उजुरी परेका कारण छापा मारिएको अख्तियारले जनाएको छ।
वीर अस्पतालका आवासीय चिकित्सकहरुले चारबुँदे माग राखेर ५ दिनदेखि आन्दोलन गरिरहेका छन्।
अख्तियारको टोलीले अस्पतालमा आन्दोलनरत आवासीय चिकित्सकहरुसँग छलफल पनि गरेको थियो। आवासीय चिकित्सकहरुले अनियमितता भएको र छानबिन गर्नुपर्ने बताएका बेला अख्तियारले अनुसन्धान थालेको हो ।
वार्ता असफल
यसैबीच सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच भएको वार्तामा कुनै सहमति हुन सकेन ।
वार्तामा सहभागी आवासीय चिकित्सक संघका अध्यक्ष डा। मंगल रावलले वार्ता सकारात्मक भएको तर कुनै सहमतिमा पुग्न नसकिएको बताएका छन् ।
सरकारका तर्फबाट स्वास्थ्यमन्त्री खगराज अधिकारीले आन्दोलन स्थगित गरेर सहयोग गर्न आन्दोलनरत चिकित्सकहरुलाई आग्रह गरेका थिए ।
वार्तामा निमित्त स्वास्थ्य सचिव तीर्थराज बुर्लाकोटीले दुई हप्ताभित्र वीर अस्पतालमा सिटीस्क्यान मेसिन जोड्ने प्रतिबद्धता जनाउँदै आन्दोलन स्थगित गर्न आग्रह गरे पनि आवासीय चिकित्सकहरुले अस्पतालको समग्र सुधार नभएसम्म आन्दोलन नरोक्ने बताएका थिए ।
वीर अस्पतालमा उपचार सेवा प्रभावकारी बनाउनुपर्ने लगायतका माग राखी पाँच दिनदेखि आवासीय चिकित्सक आन्दोलनमा उत्रिएपछि बिरामी मर्कामा परेका छन् ।
