समाचारशनिबार, साउन १७, २०७१

पहिरोले सुनकोसी थुनियो, लामोसाँघुदेखि दोलालघाटसम्मका बासिन्दाले घर छोडे

हिमालखबर

सिन्धुपाल्चोकको धुस्कुनमा गएको ठूलो पहिराले सुनकोसी नदी थुनिएको छ भने स्थानीय बासिन्दाका ४० घरमा क्षति पुगेको छ । घटनास्थलमा ८ जनाको शव फेला परेको स्थानीयले जानकारी दिएका छन् । मानवीय क्षति कति भयो भन्ने अहिलेसम्म एकिन हुन सकेको छैन ।

घटनास्थल सदरमुकाम चौताराबाट ८० किलेमिटर टाढा पर्छ ।

पहिरोका कारण थुनिएको सुनकासीको बाँध फुट्ने त्रासले लामोसाँघुदेखि दोलालघाटसम्मका अरनिको राजमार्ग छेउछाउ र नदी आसपास बस्तीका बासिन्दा घर छोडेर सुरक्षित स्थानतर्फ लागेका छन् ।

घटनालगत्तै प्रहरीले माइकिङ गरी त्यहाँका बासिन्दालाई सुरक्षित स्थानमा जान भनिसकेको छ । अहिले अरनिको राजमार्ग पनि  बन्द छ  ।

पहिरोले बिजुलीको पोल ढलेका कारण उक्त क्षेत्रमा विद्युत् सेवा तथा टेलिफोन सेवासमेत अवरुद्ध भएको छ ।

घटना भएको खबरलगत्तै प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुली, प्रहरी नायब उपरीक्षक बोहोरा र नेपाली सेनाका प्रमुख सेनानी सुरेश कार्की त्यसतर्फ गएका छन् ।

अहिले सुनकोसीमा एकथोपा पनि पानी बगेको छैन भने स्थानीय बासिन्दा त्रासमा रहेको लामोसाँघुका वासुदेव कार्कीले बताए । प्रमुख जिल्ला अधिकारी पराजुलीले थुनिएको नदी कसरी खुलाउने भन्ने बारे छलफल भइरहेको बताएका छन् ।

सप्तकोसी नदीमा बाढी आउने खतरा, उच्च सुरक्षा सतर्कता

सिन्धुपलाञ्चोक जिल्लास्थित सुनकोसी नदी पहिरोले थुनिएको घटनाले सुनसरी जिल्लामा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

सुनकोसी नदीमा आएको बाढी सिधै सप्तकोसी नदीमा आइपुग्ने भएकाले सुनसरीमा पनि उच्च सुरक्षा सतर्कता अपनाउनुपरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी सुदर्शनप्रसाद ढकालले जानकारी दिएका छन् ।

बिहानैदेखि प्रमुख जिल्ला अधिकारी ढकालको नेतृत्वमा सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवाला कार्यालयका प्रमुखहरुको बैठक बसेर ६ वर्षअघिे तटबन्ध भत्किएर भएको जनधनको नोक्सानी जस्तो नहोस् भनेर उच्च सुरक्षा सतर्कता अपनाइएको हो ।

भारत विहार राज्यको सुपौल जिल्लाका जिल्ला प्रमुख लक्ष्मीप्रसाद चौहानसँग पनि सम्पर्क स्थापित गरेर उनको निर्देशनमा कोसी ब्यारेज प्रमुख राजेश कुमारलाई ब्यारेजमा उच्च सतर्कताका साथ नियन्त्रण सावधानी अपनाउन भनिसकिएको बताइएको छ ।

नेपाली सेनाको पूर्वी पृतना मुख्यालय इटहरीले पनि सम्बन्धित जिल्लामा रहेका नेपाली सेनालाई भोटेकोसी, सुनकोसी, दूधकोसी हुँदै सप्तकोसी नदी आसपासका बस्तीलाई जोखिम हुन सक्नेतर्फ सतर्क रहन सूचना प्रवाहका लागि परिचालन गरेको छ ।

सुनसरी जिल्लाको सदरमुकाम इनरुवामा बसेको सुरक्षा समितिको बैठकले पनि अति संवेदनशील क्षेत्रका रुपमा रहेका बराहक्षेत्र, महेन्द्रनगर, प्रकाशपुर, मधुवन, पश्चिम कुशाहा र हरिपुर तथा कोसी ब्यारेज क्षेत्रमा बसोवास गर्दै आएका मानिसलाई उच्च सजगताका साथ बस्न सूचित गर्न प्रहरी प्रशासन परिचालन गरेको बताइएको छ ।

भोटेकोसीको पहिरो अवरोध भत्किएर एक्कासि कति पानी आउन सक्छ भन्ने प्राविधिक अनुमान गर्ने कार्यसमेत भइरहेको बताइएको छ । कति पानी आउँदा ब्यारेजका ५६ ढोकामध्ये कति वटा ढोका खोल्दा सहजै रुपमा पानी जान सक्छ र ब्यारेजलाई खतरा नहुन सक्छ भनेर भारत सुपौलका जिल्ला प्रमुख चौहानले प्राविधिक टोली नै परिचालन गरेको पनि सुनसरीका प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए ।

काभ्रेपलाञ्चोकमा पनि उच्च सतर्कता

सुनकोसी नदी पहिरोले थुनिएपछि काभ्रेपलाञ्चोक जिल्लाको नदी आसपासका झन्डै ८ गाविसमा उच्च सतर्कता अपनाइएको छ ।

नदी आसपासमा रहेका दोलालघाटमा रहेका स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी केदार न्यौपानेले जानकारी दिएका छन् ।

पानीको बहाव कस्तो हुन्छ, त्यसले पनि प्रभाव पार्न सक्छ दोलालघाट पुगेका प्रजिअ न्यौपानेले भने ।

खासगरी नदी आसपासका भुम्लुटार, सस्र्युखर्क कोसीदेखा बोल्दिफेदिचे सरमथली मेत्क्षेलगायतका गाविसमा उच्च सर्तकता अपनाइएको छ ।

————————————————————————————————————————————————————————

सुनकोशी थुनिंदा खोटाङ पनि जोखिममा

पहिरोले सुनकोसी थुनिएपछि खोटाङका १४ गाविस उच्च जोखिममा परेका छन् ।

शनिबार , १७ साउन २०७१ १:५५ पम

भोेटेकोसीसँग मिसिएर बग्ने सुनकोसी नदी पहिरोले थुनिएपछि खोटाङका नदी किनारका बाहुनीडाँडा, डिकुवा, च्यास्मिटार, दुर्छिम, धितुङ, राजापानी, बतासे, लिच्कीराम्चे, बराहपोखरी, साउनेचौर, सुन्तले, फाक्टाङ, पौवासेरा र देवीस्थान गाविस उच्च जोखिममा परेका छन् ।

कोसी थुनिएर पानी जमेपछि हुन सक्ने सम्भावित दुर्घटनाबाट बच्नका लागि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय खोटाङले जिल्लावासीलाई सुरक्षित क्षेत्रमा सर्न आग्रह गरेको छ ।

घटनाको जानकारी आएलगत्तै प्रशासन र प्रहरीले १७ साउन बिहान सार्वजनिक सूचना जारी गरेर सुनकोसी आसपासका सर्वसाधारणलाई उच्च स्थानमा सरेर बस्न अनुरोध गरेको छ ।

प्रशासनले स्थानीय सञ्चारमाध्यमबाट सूचना जारी गर्दै खतरा कायम रहेसम्मका लागि नदीको किनार आसपासमा नबस्न भनेको छ ।

पहिरोले पानी थुनिएर ताल बनेर जमेको पानी बाढीका रुपमा आएर बगाउने सम्भावना बढेकाले स्थानीयवासीलाई नदीको किनारभन्दा माथि निस्केर सुरक्षित स्थानमा बस्न आग्रह गरिएको खोटाङका सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन राईले बताए ।
————————————————————————————————————-
सुनकोसी नदी खुलाउने कार्य दुई बजेपछि शुरु हुने

सिन्धुपाल्चोकमा थुनिएको सुनकोशी नदी खुलाउने कार्य दिउँसो २ बजेबाट शुरु हुने भएको छ ।

अहिले नदी खुलाउन सुरक्षा निकाय परिचालन भएको र चट्टानको ढिस्को नै बगेर खोला थुनिएकाले अत्यन्त कठिन भइराखेको सांसद मोहनबहादुर बस्नेतले जानकारी दिएका छन् ।

सांसद बस्नेतका अनुसार अहिलेसम्म आठ जनाको मृत्यु भएको र १०० भन्दा बढी बेपत्ता भएको जानकारी आएको छ । नदी थुनिएको क्षेत्रभन्दा तल्लो तटीय क्षेत्रका स्थानीयवासीलाई अन्यत्र सार्ने काम पनि भइराखेको सांसद बस्नेतले जानकारी दिए ।

नेपाली सेनाले पहिरोले बनाएको बाँधमा सानो सानो विष्फोट गराउँदै विस्तारै नदीलाई निकास दिने तयारी गरिरहेको छ । अहिले नेपाली सेनाका प्राविधिकहरु घटनास्थलमा पुगिसकेका छन् ।

सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक भरतबहादुर बोहराका अनुसार पहिरोमा परी मृत्यु भएका बदासे–१ का ४० वर्षीय अभिषेक श्रेष्ठ, माङ्खा–१ का १८ वर्षीया आष्मादेवी श्रेष्ठ, सोही वडाका १७ वर्षीया रामदेवी श्रेष्ठ र ४० वर्षीया गणेशमाया श्रेष्ठको सनाखत भएको छ ।

सोही वडाका ३० वर्षीया विमला श्रेष्ठ र ३५ वर्षीय श्याम श्रेष्ठको यसअघि नै सनाखत भएको थियो ।

पहिरोग्रस्त क्षेत्रबाट एकजना बेल्जियम नागरिकसहित १६ जना घाइतेको उद्धार गरिएको उनले जानकारी दिनए ।

पहिरोग्रस्त क्षेत्र नजिकैको धुस्कुन गाविसका प्रत्यक्षदर्शी स्थानीय शिक्षक पृथ्वीजङ्ग पाण्डेले नदी थुनिएर बनेको तालमा चौपायाहरु छट्पटाइरहेको देखिएको बताएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>