समाचारशनिबार, साउन १७, २०७१
उद्धारका लागि छिमेकी राष्ट्रलाई आग्रह गर्न सकिने,सम्पूर्ण सुरक्षा निकाय परिचालन
गृहमन्त्री वामदेवन गौतमको अध्यक्षतामा बसेको केन्द्रीय दैवी प्रकोप उद्दार समितिको बैठकले नदीबाट प्रभावित हुने तटीय क्षेत्रलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ ।
सिन्धुपाल्चोकको माङ्खा गाविसको जुरेमा अविरल वर्षाका कारण आएको चट्टानको पहिरोबाट त्यस क्षेत्रमा बग्ने भोटेकोसी/सुनकोसी नदी थुनिएपछि दुर्घटनाबाट सम्भाव्य प्रभावित क्षेत्रका बासिन्दालाई तुरुन्त अन्यत्र सार्ने प्रबन्ध मिलाउने, घाइतेहरुको तत्काल उद्धार र उपचार गराउने तथा अन्यत्र सारिएकाहरुको खानपिन र बसोवासको व्यवस्था जिल्ला दैवी प्रकोप, उद्धार समितिलाई मिलाउन निर्देशन दिएको छ ।
खोज, उद्धार तथा राहत कार्यका लागि सबै सरकारी÷गैरसरकारी निकाय तथा सुरक्षा निकायहरुसँग भएको स्रोत साधनहरु जिल्ला दैवी प्रकोप उद्धार समितिको संयोजनमा परिचालन गर्ने, निजी क्षेत्रका हेलिकप्टरहरुलाई आवश्यक परेका बेलामा उद्धार कार्यमा परिचालन हुने गरी तयारी अवस्थामा राख्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिइएको छ ।
राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रमा सहसचिवको नेतृत्वमा कमाण्ड पोष्ट खडा गरी तत्काल सूचना सङ्कलन, समन्वय र निर्देशन गर्ने तथा सम्बद्ध तल्लो तटीय जिल्लाहरुमा प्रजिअहरुलाई कमाण्ड पोष्ट खडा गरी निरन्तर सूचना सम्प्रेषण, समन्वय र परिचालन गर्ने व्यवस्था मिलाउने निर्देशन दिने पनि निर्णय गरिएको छ ।
त्यसैगरी मृतकहरुको आफन्त सम्पर्कमा भए त्यही जिम्मा लगाइदिने र आफन्तहरु सम्पर्कमा नआएमा नजिकको अस्पतालमा राख्ने व्यवस्था जिल्ला दैवी प्रकोप उद्धार समितिले मिलाउने समितिको निर्णय छ ।
भोटेकोसी/सुनकोसी नदीको बहाव थुनिएपश्चात् उत्पन्न परिस्थितिले पार्न सक्ने प्रभावलाई मध्यनजर राखी उद्धार तथा राहतका लागि छिमेकी मित्रराष्ट्र भारत र चीनलाई अनुरोध गर्न परराष्ट्र मन्त्रालयलाई लेखी पठाउने, कोसी ब्यारेजको ढोकाहरु खोल्न कूटनीतिक पहल हुन परराष्ट्र मन्त्रालयमा लेखी पठाउने निर्णय बैठकले गरेको छ ।
बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधि, सहरी विकास मन्त्री डा नारायण खडका, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री खगराज अधिकारी, मुख्य सचिव लीलामणि पौडेल तथा केन्द्रीय दैवी प्रकोप उद्धार समितिका पदाधिकारीहरु तथा सिन्धुपाल्चोक क्षेत्र न १ का सभासद् मोहनबहादुर बस्नेतसमेतको उपस्थिति रहेको थियो ।
————————————————————————————————————————————————————————-
बाह्रबिसे बजार डुब्ने खतरा, विष्फोट गराउने सेनाको तयारी
सिन्धुपाल्चोकको धुस्कुन र राम्चे गाविसको बीचमा पर्ने जुरे भन्ने ठाउँमा गएको भीषण पहिरोबाट थुनिएको नदीको डुबानमा पर्दा अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ८ पुगेको छ ।
मृतकमध्ये माङ्खा–१ का विमला श्रेष्ठ र श्याम श्रेष्ठको मात्र पहिचान भएको र अन्यको पहिचान हुन सकेको छैन ।
अहिले राम्चे र धुस्कुन दुवैतर्फबाट पनि पहिरो झरेकाले नदी खोल्न सकेका छैन तर प्रयास जारी छ ।
नदी खोल्न नसक्दा नदीको सतह बढ्दै गई बाह्रबिसे बजारसमेत डुबानमा पर्न थालेको स्थानीय केशरबहादुर खत्रीले जानकारी दिए ।
डुबानका कारण सुनकोसी र भोटेकोसी दोभानमा रहेको सानिमा हाइड्रो पावरको तीन मेगावाटको पावर हाउस बगरमा परिणत भएको छ ।
नेपाली सेनाले बम विष्फोट गराई नदी खुलाउने तयारी गरिरहेको छ ।
