समाचारशनिबार, साउन १७, २०७१
नदी खुलाउन विस्फोट गराइयो, जोखिम केही घट्यो
सिन्धुपाल्चोकको जुरे नजिक सुनकोशी नदीमा पहिरो खसेर बनेको बाँधलाई फुटाई पानीलाई निकास दिन सेनाले दुईवटा विष्फोट गराएको छ ।
‘ओभरफ्लो’ भएर बग्न थालेको पानीको बहाव विस्फोटपछि बढेको छ । गिट्टी र लेदोसहितको पानी बगिरहेको स्थानीयबासीले जानकारी दिएका छन् ।
अहिलेकै अवस्थामा पानी बग्ने हो भने पनि सुनकोशी स्वभाविक बहावमा बग्न अझै १० घन्टा लाग्ने अनुमान गरिएको छ ।
पहिरोमा फसेका स्थानीयलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार गरिरहेका छन् । उद्धारकार्य रातभर पनि जारी रहने सेनाले जनाएको छ ।
राम्चे गाविस–५ मा रहेको इटिनी भीर खसेर सुनकोसी थुनिएको हो । नदी थुनिएको स्थानमा फेरि पानी पर्न थालेको छ । नदी थुनिएको स्थानबाट करिब चार किलोमिटर माथिसम्म पानी जमेर तलाउ बनेको छ ।
अहिलेसम्म करिब ६० घर पहिरोमा बगेको पुरिएको र करिब १५० जना वेपत्ता भएको अनुमान गरिए पनि ८ जनाको मात्रै शव वरामद भएको छ ।
६८ मेगावाट जलविद्युत उत्पादन बन्द
पानी जमेपछि ढस्कुन गाविसस्थित सुनकोशी किनारमा सानिमा हाइड्रो पावरको सुनकोसी परियोजना २.५ मेगावाट क्षमताको विद्युत् गृह डुबानमा परेको प्रहरी नायब उपरीक्षक भरतबहादुर बोहराले बताएका छन्।
डुबानमा परेर ४५ मेगावाटको भोटेकोशी, १० मेगावाटको सुनकोशी, ६ मेगावाटको चाकु, ३ मेगावाटको भैरवकुण्ड र २.५ मेगावाटकोसानिमा हाइड्रो गरेर जम्मा ६८.५ मेगावाटका जलविद्युत योजनाहरु ठप्प भएका छन् ।
सानिमा हाइड्रोका प्रवद्र्धक जुगल भुर्तेलका अनुसार आयोजनाको सबै इलेक्ट्रो मेकानिज्म ध्वस्त भएको अनुमान गरिएको छ । उनीले टर्वाइनमा भने ठूलो क्षति पुगेको छैन की भन्ने आशा बाँकी रहेको बताए ।
स्थानीय प्रशासनले लामो साँघु, खाँडीचौर, कोठे, बलेफी, सिकुटे, बनदेउसम्मका नदी किनारका स्थानीय सतर्क रहन आग्रह गरेको छ ।
राम्चे गाविस–४ को ओखरबोटे, सोही गाविस–९ को पातलेको जमिन पनि चर्केपछि स्थानीयको भागाभाग भएको छ । सो स्थानमा सुख्खा पहिरो गएको बताइएको छ ।
पूर्वको सात जिल्ला जोखिममा
नदीमा पहाडको ढिस्को खसेर बनेको ड्याम फुटेर पानी एक्कासी बाहिरिएमा सप्तकोसी आसपासका सात जिल्लामा क्षति पुग्ने छ ।
अहिले कोसी ब्यारेजका ५६ ढोका नै खुला गरिएको छ । यसअघि २०६५ भदौ २ गते पनि सबै ढोका खेलिएका क्यारेज नियन्त्रण कक्षका इन्जिनियर विमल कुमारले बताए ।
पूर्वी नेपालको सप्तकोसी नदीसँग जोडिएका सुनसरी, भोजपुर, धनकुटा, सप्तरी, उदयपुर, खोटाङ र ओखलढुङ्गा जिल्लाका कोसी आसपासका गाविसमा उच्च सुरक्षा सतर्कता उपनाइएको पूर्वाञ्चालनका क्षेत्रीय प्रशासक महाश्रम शर्माले जानकारी दिए ।
उनले सबै जिल्लाका सप्तकोसी नदीको २०० मिटर आसपासमा रहेका ५१ गाविसका बासिन्दालाई सुरक्षित स्थानतर्फ जानसमेत आग्रह गरिसकिएको बताए । पूर्वी नेपालका सात जिल्लामध्ये सुनसरी र सप्तरी सबैभन्दा बढी जोखिममा रहेको बताउँदै उहाँले ती जिल्लामा विशेष निगरानीमा राखिएको जानकारी दिए ।
क्षेत्रीय प्रशासक शर्माका अनुसार सबै क्षेत्रमा सुरक्षाकर्मी परिचालन भइसकेको र सबै जिल्लामा जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठक बसिसकेकोछ ।
सप्तकोसीमा पानी घटदै
सुनकोशी नदी थुनिएपछि सप्तकोसी नदीमा पानीको बहाव भने पछिल्लो समयमा आएर घटिरहेको कोसी ब्यारेज प्रहरीले बताएको छ । १७ साउन साँझ सम्ममा कोसी नदीमा १ लाख २८ हजार ९३० क्युसेक प्रतिसेकेण्ड पानीको बहाव रहेको प्रहरी नायब निरीक्षक खगेश्वर खतिवडाले जानकारी दिए ।
१७ साउनमा कोसी नदीमा १ लाख ५० हजार क्युसेक प्रतिसेकेण्ड पानीको बहाव रेकर्ड भएको थियो ।
—————————————————————————————————————————————————
सुनकोशीको पानी ‘ओभर फ्लो’ हुन थालेपछि खतरा केही घट्यो
सिन्धुपाल्चोकको बाह्रबिसेसँग जोडिएको जुरेमा खसेको पहिरोले थुनिएको सुनकोशी नदी ‘ओभर फ्लो’ भएर बग्न थालेको छ ।
गए राति ३ बजे आएको पहिरोले सिन्धुपाल्चोकमा थुनिएर ताल बनेकोे सुनकोशी नदी पानी भरिएपछि बाँधको माथिबाट बग्न थालेको छ ।
पानीको बहाव सामान्य रहेको र बाँध विस्तारै खुली रहेको सुरक्षा निकायले जानकारी गराएको छ । अहिलेसम्मको पानीको बहाव र पहिरोले बनाएको बाँधको विश्लेषण गर्दा एकैपटक विष्फोट भएर बाढी आउने खतरा कम भएको छ ।
तर, पानीको बहाव बढेमा भने तल्लो भागमा ठूलो क्षति हुन सक्छ ।
पहिरो खसेर सुनकोशी नदी करिब चार किलोमिटर लामो ताल बनेको छ। भने पहिरोले बनाएको बाँधको उँचाई ४० मिटर छ।

