समाचारआइतबार, साउन १८, २०७१

तालको पानी २५ प्रतिशत घट्यो, प्रवाह सामान्य

हिमालखबर

नदीले कटान गरिरहेको ढिस्को (पहिरोले पुरेर बनाएको बाँध) कडा भएकोले एकै पटक भत्कने सम्भावना कम रहेको उद्दारमा संलग्न सुरक्षाकर्मीले बताएका छन् ।

१७ साउन बिहान साढे ३ बजे इटनीमा गएको पहिरोले एउटा गाउँ नै बगाएको थियो । भने पानी जम्मा भएर बनेको तालले नदी किनारका बस्ती डुवानमा परेका थिए । खतरा कतिसम्म थियो भने दिउँसोबाट पानी नबगेको भए सम्पूर्ण बाह्रबिसे बजार नै डुबानमा पर्न सक्थ्यो ।

त्यस्तै बाँध एक्कासी फुटेको भए सिन्धुपाल्चोकदेखि सप्तरी हुँदै भारतको बिहारसम्म ठूलो क्षति हुनसक्थ्यो । अहिले त्यो जोखिम निकै कम भइसकेको बताइएको छ ।

पहिरोमा परि करिब २०० जना वेपत्ता भएको अनुमान गरिएको छ । अहिलेसम्म ८ जनाको मात्रै शव प्राप्त भएको छ ।

तटीय क्षेत्रमा राहतको अनुभूति

सिन्धुपाल्चोकको जुरेस्थित सुनकोसी नदी थुनिएको ठाउँबाट १७ साउन साँझदेखि सामान्य गतिमा पानी बग्न थालेपछि नदी तटिय क्षेत्रका वासिन्दाले राहतको अनुभूति गर्न थालेका छन् ।

बाढीको त्रासले सुरक्षित स्थानमा सरेका सप्तरीको गोबरगाढाका बासिन्दा । तस्वीर: श्रवणकुमार देव

सप्तकोसीको सहायक नदीका रुपमा रहेको सुनकोसीको थुनिएको पानीले एक्कासि ढिस्को फोड्दै सप्तकोसीमा मिसिएर प्रवाह भएको खण्डमा ठूलो जनधनको क्षति हुनसक्ने डरले पूर्वाञ्चलका सात जिल्लाका ५१ गाविसका बासिन्दा त्रसित अवस्थामा थिए ।

पूर्वाञ्चलका सप्तरी, सुनसरी, उदयपुर, भोजपुर, ओखलढुङ्गा, खोटाङ र धनकुटा जिल्लाका नदीआसपासका करिब ६०० जनालाई सुरक्षित स्थानमा सारिएको र यस कार्यका लागि तीन हजार सुरक्षाकर्मी परिचालन भएको पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ ।

पूर्वाञ्चल क्षेत्रीय कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले खतरा पूरै नटरेको भए पनि थुनिएको पानी सामान्य गतिमा बग्न थालेपछि तत्कालका लागि प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम स्थगित गरिएको बताए ।

सुरक्षाकर्मी सतर्क अवस्थामा प्रभावित क्षेत्रमा कार्यरत रहेको र अवस्था बिग्रने सङ्केत पाउना साथ मानिसहरुलाई सार्ने काम शुरु गरिने उनले जानकारी गराए ।

६८ मेगावाट जलविद्युत उत्पादन बन्द

पानी जमेपछि ढस्कुन गाविसस्थित सुनकोशी किनारमा सानिमा हाइड्रो पावरको सुनकोसी परियोजना २.५ मेगावाट क्षमताको विद्युत् गृह डुबानमा परेको प्रहरी नायब उपरीक्षक भरतबहादुर बोहराले बताएका छन्।

डुबानमा परेर ४५ मेगावाटको भोटेकोशी,  १० मेगावाटको सुनकोशी, ६ मेगावाटको चाकु, ३ मेगावाटको भैरवकुण्ड र २.५ मेगावाटकोसानिमा हाइड्रो  गरेर जम्मा ६८.५ मेगावाटका जलविद्युत योजनाहरु ठप्प भएका छन् ।

सानिमा हाइड्रोका प्रवद्र्धक जुगल भुर्तेलका अनुसार आयोजनाको सबै इलेक्ट्रो मेकानिज्म ध्वस्त भएको अनुमान गरिएको छ । उनीले टर्वाइनमा भने ठूलो क्षति पुगेको छैन की भन्ने आशा बाँकी रहेको बताए ।

स्थानीय प्रशासनले लामो साँघु, खाँडीचौर, कोठे, बलेफी, सिकुटे, बनदेउसम्मका नदी किनारका स्थानीय सतर्क रहन आग्रह गरेको छ ।

राम्चे गाविस–४ को ओखरबोटे, सोही गाविस–९ को पातलेको जमिन पनि चर्केपछि स्थानीयको भागाभाग भएको छ । सो स्थानमा सुख्खा पहिरो गएको बताइएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>