थप समाचारसोमबार, साउन १९, २०७१

सन् १९५० को सन्धि बारे स्पष्ट हुन मोदीको आग्रह

हिमालखबर

तस्वीर: रासस

नेपालको औपचारिक भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सम्मानमा १८ साउनमा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सुशील कोइरालाको स्वागत भाषणपछि प्रत्युत्तरमा बोल्दै मोदीले काठमाडौँ आएदेखि नै भएका विभिन्न भेटघाट र कार्यक्रमहरूबाट नेपालले तीब्र विकासको चाहिरहेको आफूले अनुभव गरेको बताएका छन् । उनले नेपाल विकासको उचाईमा पुग्दा भारत पनि स्वतः लाभान्वित हुने धारणा व्यक्त गरे ।

नेपालले सन् १९५० को सन्धिमा के कस्तो परिवर्तन चाहेको हो त्यसबारे नेपालका सबै पक्ष मिलेर स्पष्ट प्रस्ताव प्रस्तुत गर्न आग्रह गर्दै भारतीय प्रधानमन्त्रीले त्यो सन्धिको नाममा राजनीति मात्र गर्ने हो भने दुवै पक्षलाई कुनै फाइदा नहुने पनि खुलस्त पारे ।

गरिबलाई गरिबीबाट मुक्ति दिलाउनु भन्दा ठूलो पवित्र कार्य अरु केही नहुने धारणा राख्दै उनले सबै समस्याको समाधान र सबै दुःखको एउटै औषधि विकास नै भएको स्पष्ट पारे ।

‘प्रो पिपुल, प्रो एक्टिभ, गुड गभर्नेन्स’ नै आफ्नो मूलमन्त्र रहेको चर्चा गर्दै प्रधानमन्त्री मोदीले आफ्नो प्रधानमन्त्री कार्यकालको प्रारम्भमै नेपाल आउन पाएकोले आफ्नो कार्यकालभित्रमा दुई देशको सम्बन्धलाई अझ प्रगाढ र परिणाममुखी बनाउन सकिनेमा आफू आशावादी रहेको पनि बताए ।

स्वागत भाषण गर्दै प्रधानमन्त्री कोइरालाले छिमेकी मुलुकहरूप्रति प्रधानमन्त्री मोदीले देखाएको मित्रता र आपसी समझदारीको सङ्केतले दक्षिण एसियालाई नै प्रोत्साहित गरिरहेको उल्लेख गरेका थिए ।

कोइरालाले नयाँ संविधानमार्फत नयाँ युगमा प्रवेश गर्न लागेको नेपाललाई भारतको सहयोगबाट महत्वपूर्ण टेवा मिल्ने विश्वास व्यक्त गरे । नेपालको संसदलाई प्रधानमन्त्री मोदीले गरेको सम्बोधनलाई प्रेरणादायी भन्दै उनले धन्यवाद ज्ञापन गरे ।

उनले भारतको स्वाधीनता आन्दोलनमा नेपालका नेता विपी कोइराला सहभागी भएको ऐतिहासिक यथार्थको स्मरण गर्दैै नेपाल र भारतबीच बहुआयामिक सम्बन्ध रहेको बताए ।

प्रधानमन्त्री कोइरालाले भारतका प्रधानमन्त्री मोदीको सुस्वास्थ्य र सुखका साथै भारतीय जनताको निरन्तर समुन्नतिको कामना गर्दै टोस्ट प्रस्ताव गरेका थिए ।

प्रधानमन्त्री कोइरालाको सरल जीवन शैली, परिश्रम, सहजताबाट आफू प्रभावित रहेको उल्लेख गर्दै उनले प्रधानमन्त्री कोइरालाको सुख तथा सुस्वास्थको कामनाका साथ ‘भारत–नेपाल मैत्री अमर रहोस्’ भनी टोस्ट प्रस्ताव गरेका थिए ।

रात्रिभोजमा सभामुख, प्रधानन्यायाधीश, पूर्वप्रधानमन्त्रीहरू, उपप्रधानमन्त्रीद्वय, मन्त्रीगण, विभिन्न दलका शीर्ष नेताहरू, संवैधानिक अङ्गका प्रमुखहरू, उच्चपदस्थ राष्ट्रसेवक, कुटनीतिज्ञ, वरिष्ठ पत्रकार, कलाकार, व्यापारी, व्यवसायीलगायत भारतीय प्रतिनिधिमण्डलको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>