समाचारसोमबार, साउन १९, २०७१
सिन्धुपाल्चोकको पहिरोमा मृत्यु हुनेको संख्या ३० पुग्यो, १६ को सनाखत (अपडेट)
–बिक्रम राई, सिन्धुपाल्चोकबाट
सिन्धुपाल्चोकको मांखा गाविसको जुरे पहाड सुनकोशी नदीमा खस्दा पुरिएका २० जनाको शव निकालिएको छ । नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीले १९ साउनमा २० जनाको शव निकाले पछि मृत्यु हुनेको संख्या ३० पुगेको छ ।
शव निकालिएकामध्ये १६ जनाको सनाखत भएको छ । मृत्यु हुनेमा मांखा–१ पंग्रेटारकी ३२ वर्षीया मीठू पाठक खत्री, १४ वर्षीय दया श्रेष्ठ, ३० वर्षीया सोममाया श्रेष्ठ, ३६ वषीया चन्द्रमाया श्रेष्ठ, २० वर्षीया पुनम श्रेष्ठ, ४१ वर्षीय गणेश श्रेष्ठ, ५१ वर्षीय रामबहादुर श्रेष्ठ, ४७ वर्षीया सुशिला श्रेष्ठ, ७ वर्षीय रमित खत्री र नाम नखुलेका ९ महीनाका नाबालक छन् ।
यस्तै, टेकानपुरका ६२ वर्षीय लाल बुढाथोकी, गोर्खाकी ६१ वर्षीया धनमाया श्रेष्ठ र उदयपुर त्रियुगा नगरपालिकाकी ४१ वर्षीया मिधुला दनुवारको पनि पहिरोमा परी मृत्यु भएको नेपाली सेनाले जनाएको छ । मांखा–१ का ३५ वर्षीय राजु थामी, उनका छोरीहरु १२ वर्षीया सरु र ९ वर्षीया रिजु थामीको पनि सनाखत भएको छ ।
खनाखत भएकामध्ये ११ जनाको शव परिवारलाई बुझाइएको सेनाले जनाएको छ । सेना, प्रहरी र सशस्त्र प्रहरीले अझै बेपत्ताको खोजी जारी राखेको छ । पहिरोमा परी १८ साउनसम्ममा १० जनाको मृत्यु भएको खुलेको थियो ।
१७ साउन बिहान मांखाको जुरे पहाड भत्किएर पहिरो गएको थियो । पहिरोले मांखा र राम्चे गाविसको तीन बस्ती बगाएको थियो । राम्चे गाविसको इचिनी भन्ने ठाउँबाट पहिरो शुरु भएको थियो ।

