समाचारमंगलबार, आश्विन ९, २०६९
सरकार ढाल्न एक महिना पनि लाग्दैन: गजुरेल
काठमाडौंमा ९ असोजमा आयोजित पत्रकार साक्षात्कार कार्यक्रममा नेता गजुरेलले ११ असोजमा विपक्षी दलहरुको बैठक बसेर आन्दोलनको कार्यक्रम तय गर्ने र त्यो आन्दोलन सरकार ढलाएरै छाड्ने चेतावनी दिए । “यस्तो आन्दोलनको कार्यक्रम बनाउँछौं कि सरकार ढल्न एक महिना पनि लाग्दैन,”गजुरेलले भने ।
दलहरुवीच कायम विवादलाई थाती राखेर सहमतीको सरकारको लागि प्रधानमन्त्रीलाई पदच्यूत गर्ने विषयमा सबै एकमत भएको भन्दै उनले आन्दोलनको सफलतापछि सहमतिको सरकार र यसको नेतृत्वको विषयमा छलफल गर्ने बताए । “अहिले कसको नेतृत्व भन्ने कुरा भएको छैन, त्यो बाबुरामजीलाई हटाएपछि हुन्छ,” उनले भने, “अहिले प्रचण्ड र बाबुरामले सहजै सरकार नछाड्ने भएपछि आन्दोलन निर्विकल्प बनेको हो ।”
प्रधानमन्त्री बाबुराम भट्टराईलाई नहटाए मुलुकको राष्ट्रियता नरहने, मुलुक असफल राष्ट्र बन्ने, जनताका अधिकार झनझनै खोसिंदै जाने भएकोले पनि सरकार ढाल्नु अनिवार्य रहेको उनको तर्क थियो ।
साक्षात्कारमा पर्यटन तथा नागरिक उड्डयन मन्त्री पोष्टबहादुर बोगटीले विधि र प्रक्रिया बाहिर गएर कुनै पनि आन्दोलनले सरकार ढाल्न नसक्ने भन्दै आन्दोलन औचित्यहिन भएको दाबी गरे । उनले संविधानका अन्तर्बस्तुमा सहमति बने काँग्रेसको नेतृत्वमा सरकार बन्नसक्ने पनि बताए ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य मिनेन्द्र रिजालले भिषण आन्दोलन बिना प्रधानमन्त्री बाबुराम भट्टराईले पद नछाड्ने भएकोले आन्दोलन गर्नुको विकल्प नभएको भन्दै प्रधानमन्त्री नहटेसम्म मुलुकले निकास नपाउने वताए ।
