थप समाचारमंगलबार, साउन २०, २०७१
गाउँमा पुगेका जीतबहादुर भन्छन्, ‘साह्रै खुशी छु’
–विद्रोही गिरी, नवलपरासी
नवलपरासीको कावासोतीस्थित लोकाहामा दाजु दशरथ सारु मगरको घरमा आएका जीतबहादुरलाई हेर्नेको भीड लागेको हो । १८ साउनमा नेपाल आएका जीतबहादुरलाई मोदीले परिवारको जिम्मा लगाएपछि उनी १८ साउनमै परिवारसाथ घर फर्किएका थिए ।
उनी घर पुगेपछि १९ साउन बिहानैदेखि गाउँलेहरु भेला भएका थिए । गैंडाकोट, प्रगतिनगर, मुकुन्दपुर, चोरमारा, कावासोती, गिरुवारी लगायतका ठाउँबाट उनलाई हेर्न आइरहेको उनका दाजु दशरथले बताए ।
घरमा आउनेको भीड लागेपछि दशरथले आँगनमा टेन्ट र कुर्चीको व्यवस्था गरेका छन् । जीतबहादुरले भने गाउँलेको कुरा सुन्ने र नेपालीमा सोधिएको प्रश्नको जवाफ हिन्दीमा दिने गरेका छन् । सानैबाट भारतमा बसेका उनी नेपालीमा भन्दा हिन्दीमा राम्रोसँग बोल्छन् ।
धेरै कम बोल्ने उनको हँसिलो अनुहारले धेरैलाई मोहित बनाएको छ । उनी भन्छन्, “मोदीको साथ नपाएको भए म अहिले यही गाउँमा काम गरिरहेको हुनसक्थें ।”
“अहिले म साह्रै खुशी छु,” उनी भन्छन्, “मलाई कसैले चिन्दनथे, अहिले मेरै देशकाले चिन्छन्, भारतको गुजराँतमा मलाई चिन्छन् ।” जीतबहादुर अहिले बढी समय दाजुका छोरा र छोरीसँगै बिताइरहेका छन् ।
छोरासँग फिल्मको कहानीमा हो मा हो मिलाउने गरेको उनका दाजु दशरथ बताउँछन् । दशरथले भने, “भाई अझै केही दिन घरमै बस्छन् ।”

