थप समाचारमंगलबार, साउन २०, २०७१
एक रुपैयाँमा पढाइ
–देबकी बिष्ट
पशुपति मन्दिर नजिकको जयबागेश्वरी इँटा टोलमा रहेको बाल सारथि एकेडेमी सडकका माग्ने र एक छाक पनि टार्न गाह्रो पर्नेका छोराछोरी तथा माग्ने बालबालिकाका लागि स्थापना गरिएको हो। २०६३ मा माला खरेलले स्थापना गरेको यो एकेडेमीमा अहिले ७५ जना बालबालिका पढ्छन्। पशुपति क्षेत्रकी ९ वर्षीया बालिकालाई रु.५ दिने लोभ देखाएर जोगीले बलात्कार गरेको मर्निङवाक् जाँदा थाहा पाएपछि मालाले दुःख पाएका चार जना बालबालिकालाई पढाउन थालेर यो एकेडेमी स्थापना गरेकी हुन्। पाँच कक्षासम्म पढाइ हुने यो एकेडेमीमा पढ्ने बालबालिकालाई दिउँसो एक छाक खाना, स्कूल ड्रेस, कपी, किताब, पेन्सिल निःशुल्क दिइन्छ।
शुरूमा आफ्नै खर्चमा एकेडेमी स्थापना गरेकी मालाले एक्सन एड नेपालबाट रु.४ लाख लिएर स्कूल दर्ता गरी जयवागेश्वरीमा घर भाडामा लिइन्। यो एकेडेमीमा अहिले ८ जना शिक्षिका छन् भने बालबालिकालाई खाना बनाउने दुई जना सहयोगी छन्। यहाँका शिक्षिकाहरूले पारिश्रमिक लिंदैनन्।
एक रुपैयाँ अभियान
६ वर्षसम्म एकेडेमीको खर्च थेगेका अमेरिकी नागरिक एलेन क्यान्सर रोगबाट थलिएपछि माला एकेडेमी बन्द गर्ने स्थितिमा पुगेकी थिइन्। त्यो बेला पढ्न आउने बालबालिकालाई खाना दिन नसकेर जाउलो, निम्की र चिउरा मात्र दिने गरिएको थियो। तर, साईबाबाको भजन गाउन जाँदा मालाको आरजे रीता लिम्बूसँग भेट भएपछि स्थिति फेरियो। लिम्बूले एकेडेमीको सहयोगका लागि एक रुपैयाँको अभियान शुरू गर्ने सोच ल्याउँदै आफ्नै परिवारका सदस्यहरूबाट दिनमा एक रुपैयाँ उठाउन थालिन्। अहिले यो अभियानमा सहभागी हुनेको संख्या ८५ पुगिसकेको छ। त्यसरी मासिक रु.१२/१३ हजार उठ्ने गरेको माला बताउँछिन्।
बाल सारथिमा आउनुअघि संजय गिरी (६) दिनभरि पशुपतिमा माग्थे। उनका आमाबुबा पनि पशुपतिमा माग्छन्। संजय बुबासँग राति पशुपतिमै बस्छन् भने आमाले गोठाटारमा डेरा लिएकी छिन्। संजय अहिले बिहान साढे सात बजे नै एकेडेमी पुग्छन्। स्कूल भने बिहान १० बजे मात्र खुल्छ। क्यान्सरले एउटा खुट्टा काट्नुपरेपछि पशुपतिमा माग्न थालेका सलमानका छोरा मनोज श्रेष्ठ (४) पनि दुई वर्षदेखि बाल सारथिमा पढ्दैछन्। अहिले नर्सरीमा पढ्ने मनोजकी आमा शान्ति सेवा गृहमा काम गर्छिन्।
एकेडेमीसँग बालबालिकाको माया र निर्भरता कतिसम्म बढेको छ भने नेपाल बन्द वा कुनै कारण विद्यालय बन्द हुँदा पनि बालबालिका स्कूल खोल्न आग्रह गर्दै आफूलाई लिन घरमै आउने गरेको माला बताउँछिन्। त्यसरी बालबालिका स्कूलसँग आकर्षित हुनुको कारण खाना भएको उनको भनाइ छ। यहाँबाट पाँच कक्षा पास भएकालाई शारदा उच्च माध्यमिक विद्यालय तिलगंगा र बाबा वाटिका माध्यमिक विद्यालयमा निःशुल्क पढ्ने व्यवस्था मिलाएको माला बताउँछिन्।
___________________________________________________________________________________
सानी लक्की
प्रत्येक शनिबार पशुपति मन्दिरको मूल ढोका बाहिर ह्वील चियरमा बसेर माग्दै गरेकी लक्की राई (११) ले धेरैको ध्यान तानेकी हुन्छिन्। जम्मा ११ इन्च अग्ली लक्कीको स्वर मसिनो र मीठो पनि छ। जति रुपैयाँ दिए पनि उनी थ्याङ्कु आन्टी र थ्याङ्कु अंकल भन्न छुटाउँदिनन्। त्यस्तोमा कहिलेकाहीं कुनै दयालुले सय/पचास र कहिलेकाहीं त त्यो भन्दा बढी रुपैयाँ पनि दिन्छन्। यसैबाट चल्छ, उनको खर्च।
जोरपाटी अत्तरखेल बस्ने लक्की जोरपाटीकै खगेन्द्र नवजीवन विशेष माध्यमिक विद्यालयमा कक्षा ३ मा पढ्छिन्। चारबहिनीमध्येकी साहिंली छोरी उनी हरेक शनिबार बुबा खिमप्रसादसँग पशुपति आउँछिन्। त्यहाँको कमाइ लक्कीको नाममा ब्याङ्कमा जम्मा गरिदिने गरेको खिम बताउँछन्। अस्वाभाविक कद भएकोले महीनामा दुई/तीन पटक बिरामी पर्ने लक्कीलाई अस्पताल लैजान खर्च लाग्ने उनको भनाइ छ। स्कूलका साथीहरूकी प्यारी लक्कीलाई स्कूल पुर्याउन र लिन आफू र पत्नीमध्ये एक जना सधैं जाने गरेको बाबु खिम बताउँछन्।
साप्ताहिक खबरपत्रिका हिमालबाट


