समाचारमंगलबार, साउन २०, २०७१
सुनकोशी पहिरोः भारतीय प्राविधिकले भने, ‘सेनाको विधि ठीक’
पहिरोेले सुनकोशी नदी थुनिएपछि सम्भावित विपत्तिबाट जोगिन नेपाल सरकारको आग्रहमा भारतबाट आएका प्राविधिक टोलीले नेपाली सेनाले पहिरोले बनाएको बाँध खोल्न नेपाली सेनाले प्रयोग गरेको विधि ठिक रहेको बताएका छन् । भारतीय टोलीसँगै त्रिभुवन विश्वविद्यालयका प्राध्यापकजलउत्पन्न प्रकोप नियन्त्रण विभाग, जल तथा मौसम विज्ञान विभाग, खानी तथा भूगर्भ विभागसहितको उच्च प्राविधिक टोलीले सिन्धुपाल्चोकस्थित घटनास्थलमा पुगेर जानकारी लिएको छ ।
टोलीको राय सुझावसमेतलाई ध्यान दिई सेनाले थुनिएको पानीलाई अझै बढी निकास दिने कार्य अगाडि बढाइरहेको छ । अहिले सेनाको उच्च प्राविधिक टोलीले स्काभेटर र डोजरसमेतको सहायतामा तालमा रहेको पानीको बहावलाई नियमित बनाउने काम गरिरहेको छ ।
सेनाले सक्दो चाँडो पानीलाई गहिरो र फराकिलो निकासा गराई अवरुद्ध कोदारी राजमार्गलाई समेत शीघ्र सुचारु गर्ने योजना बनाएको जनाएको छ ।
तालको पानीलाई निकास दिन सेनाले १७ साउनमा दुईवटा र १९ साउनमा दुईवटा विस्फोटन गराएको थियो । अहिले पानीको भित्री बहाव १८० क्युबिक मिटर र बाहिरी बहाव २०४ क्युबिक मिटर प्रतिसेकेन्ड छ ।
एकै चोटि पहिरो हटाउँदा तल्लो तटीय क्षेत्रमा पुग्ने क्षतिलाई ध्यानमा राखी क्रमिकरुपमा बहाव सामान्य बनाउनु पर्ने विज्ञहरुको सल्लाहअनुसार नेपाली सेनाले कार्य गरिरहेको सैनिक निर्देशनालयले जनाएको छ ।
१७ साउनमा सिन्धुपाल्चोक जिल्लाको राम्चे गाउँ विकास समितिको वडा नं ५ स्थित जुरेमा गएको पहिरोका कारण सुनकोसी नदी थुनिएको थियो । सो पहिरोमा पुरिएर हालसम्म ३३ जनाको मृत्यु भइसकेको छ भने करिब १५० जना बेपत्ता छन् ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी स्थानीय बासिन्दाद्वारा पहिरोमा पुरिएकाको खोजी कार्य गरिरहेको छ ।

