समाचारमंगलबार, साउन २०, २०७१
नेपाल चाँडै समृद्ध राष्ट्र बन्नेछः मोदी
दुई दिने नेपाल भ्रमणबाट २० साउनमा स्वदेश फर्किएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीमा जारी गरेको विज्ञप्तिमा भ्रमणले आफ्नो व्यक्तिगत सम्बन्धमा नयाँ आयाम थपेको उल्लेख गरेका छन् । उनले नेपाल चाँडै नै स्थिर, समावेशी र समृद्ध राष्ट्र बन्ने विश्वास पनि व्यक्त गरेका छन् ।
नेपालको संविधानसभाका सदस्यहरुसँग साक्षात्कार गर्न पाउँदा आफू सम्मानित भएको र नेपालमा पाएको अद्वितीय माया र सद्भावले आफूलाई घरमै पुगेको जस्तो अनुभूति भएको मोदीले जारी गरेकोे विज्ञप्तिमा उल्लेख छ ।
उनले दुईदिने भ्रमणमा राजनीतिक स्थिरता र आर्थिक समृद्धिका लागि नेपालमा सबैको समान मत रहेकोे आफूले पाएको बताएका छन् ।
नेपाल र भारत मिलेर दुई देशबीचको सम्बन्धको नयाँ जग बसाउनुपर्नेमा जोड दिँदै भारतीय प्रधानमन्त्री मोदीले एक्काइसौं शताब्दीका अवसर र चुनौतीहरुलाई सम्बोधन गर्न दुवै देशबीच सहकार्य हुने विश्वास व्यक्त गरेका छन् ।
“दुई देशको दीर्घकालीन लक्ष्यलाई यथार्थतामा परिणत गर्न र प्रतिबद्धताहरूलाई व्यवहारमा उतार्न मैले कुनै कसर बाँकी राख्ने छैन,” विज्ञप्तिमा उल्लेख छ ।
आगामी सार्क सम्मेलनमा सहभागी हुन नेपाल पुनः फर्कन र काठमाडौँबाहेक नेपालका अन्य स्थानको पनि भ्रमण गर्न आफू आतुर रहेको मोदीले जनाएका छन् ।
उनले विज्ञप्तिमार्फत राष्ट्रपति रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला, नेपाल सरकार, राजनीतिक पार्टी, सङ्घसंस्था, सुरक्षाकर्मीलगायत सबैलाई धन्यवाद पनि दिएका छन् ।
