समाचारमंगलबार, साउन २०, २०७१
वीर अस्पतालमा अख्तियारको छापा
अख्तियारले वीर अस्पतालमा अनियमितता भएको आरोपमा २० साउनमा छापा मारेको हो । वीर अस्पतालमा अनियमितता भएको भन्दै आलोचना भइरहेका बेला अख्तियारले दोस्रोपटक छापा मारेको हो ।
केही दिनअघि पनि अख्तियारले अस्पतालमा छापा मारी महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको थियो । आयोगका सहन्यायाधीवक्ता गीताप्रसाद तिम्सिनाको नेतृत्वमा पुगेको टोलीले महानिर्देशक केदारप्रसाद सेन्चुरी र लेखा प्रमुख केदारसिंह देउजाको कार्यकक्षमा रहेका सबै कागजात नियन्त्रणमा लिएको छ ।
अस्पतालबाट ४० पोकाभन्दा बढी कागजात नियन्त्रणमा लिएको तिम्सिनाले जानकारी दिए । उनले थप अनुसन्धान गर्नुपर्ने देखिएपछि पुनः छापा मारेको बताए ।
उनले तत्काल कोही कसैलाई नियन्त्रण नलिइने तर दोषी देखिए नछाडिने स्पष्ट पारे । लामो समयदेखि अस्पतालमा अनियमितता भएको र त्यसलाई नियन्त्रण गर्नेतर्फ कुनै पनि पहल नगरिएको भन्दै अख्तियारमा उजुरी परेको थियो ।
रासस
