थप समाचारबुधबार, साउन २१, २०७१

राहदानी तत्काल लैजान सेवाग्राहीलाई अपिल

हिमालखबर

दस्तुरसहित सबै प्रक्रिया पुर्याएर आवेदन गरेका झन्डै तीन हजार सेवाग्राहीले पाँच वर्षदेखि एमआरपी (मेशिन रिडेबल पासपोर्ट) नलिँदा विभागलाई त्यसको सुरक्षित व्यवस्थापनमा समस्या परेको छ ।

१७ पुस २०६७ देखि एमआरपी जारी गर्न शुरु भएदेखि नै बनेका राहदानी केही सेवाग्राहीले आजसम्म नलिँदा तिनको संरक्षणमा समस्या परेको विभागका महानिर्देशक रमेशप्रसाद खनालले बताए ।

उनले सेवाग्राहीलाई बनिसकेका राहदानी तत्काल लैजान आग्रह गर्दै ३१ साउन, शनिबार बिहान ८ बजेदेखि १ बजेसम्ममा नारायणहिटीस्थित विभाग खुला राखिएको जानकारी दिए ।

“सेवाग्राहीमा द्रूत सेवाअन्तर्गत आवेदन गरिएका राहदानी बनिहाल्छन् जहिले लिए पनि हुन्छ भन्ने मानसिकताका कारण उनीहरू लिन नआएका हुनसक्छ”, महानिर्देशक खनालले भने, ‘‘सात दिनभित्र एमआरपी प्राप्त गर्न आवेदन दिने अनि वर्षौंसम्म लिन नआउनु जानकारीको अभाव पनि हुनसक्छ ।’’

१० हजार रुपैयाँ दस्तुर बुझाएर द्रूत सेवा उपयोग गरेका सेवाग्राही एमआरपी लिन नआएपछि विभागले ‘पेन्डिङ’ राहदानी प्रत्येक सोमबार र बिहीबार अपराह्न २ देखि ४ बजेसम्म वितरण गर्ने व्यवस्था मिलाएकामा अझै तीन हजार एमआरपी बाँकी रहेकाले अभियानकै रुपमा बिदाको दिन पनि ती राहदानी सम्बन्धित सेवाग्राहीलाई वितरण गर्नुपर्ने परिस्थिति सिर्जना भएको उनले बताए ।

खनालले सबै राहदानी आवेदकलाई तत्काल आफ्ना एमआरपी लैजान अपिल गर्दै आवेदन दर्ता गर्दा विभागले प्रदान गरेको भौचर, नागरिकता प्रमाणपत्रको सक्कल प्रति र पुरानो राहदानी भए त्यो पनि सक्कल नै लिएर आवेदक स्वयम्लाई उपस्थित हुन आग्रह गरे ।

लामो समयदेखि धेरै राहदानी एकै ठाउँमा भण्डारण गर्दा ढुसी पर्ने, लेखिएका विवरण मेटिने, नासिने भएकाले तत्काल विभागले उपलब्ध गराएको सुविधाको उपभोग गर्न महानिर्देशक खनालले अनुरोध गरेका छन् ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>