समाचारबुधबार, साउन २१, २०७१

दिनेश अधिकारी ‘चरी’ मुठभेडमा मारिए (अपडेट)

हिमालखबर

मोबाइलबाट खिचिएको तस्वीर: देवकी बिष्ट

चरी नामले चिनिने आपराधिक गतिविधिमा संलग्न दिनेश अधिकारी २१ साउन अपराह्न काठमाडौंको भीमढुंगामा प्रहरीको गोलीबाट मारिएका छन् । मोटरसाइकलमा एक्लै धादिङतर्फ जाँदै गरेका उनी काठमाडौं र धादिङ्को सीमामा पर्ने भीमढुंगा-६,  नर्सरी भञ्ज्याङको जंगलमा मारिएको प्रहरीले जनाएको छ ।

चरीलाई पिछा गरिरहेको महानगरीय प्रहरी अपराध महाशाखाका डिएसपी मिरा चौधरीको कमाण्डमा खटिएको टोलीमाथि उनले गोली प्रहार गरेपछि जवाफी कार्वाहीमा चरी मारिएको प्रहरी स्रोतले जनाएको छ । प्रहरीले घटनास्थलबाट एक थान पेस्तोल र एक थान गोली बाँकी रहेको ८ थान गोली लाग्ने म्यग्जिन साथै एउटा मोटरसाइकल बरामद गरेको छ ।

उनको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको  घटनास्थलमा पुगेकी हाम्रा सहकर्मी देवकी बिष्टले जानकारी दिएकी छन् । सञ्चारकर्मी  पुग्दा घटनास्थललाई प्रहरीले घेरेर राखेको थियो  भने उनका अाफन्त र स्थानीयहरुको ठूलो भीड जम्मा भएको थियो । चरीको शरीरमा ५/६ वटा गोली लागेको दाग देखिएको पनि बिष्टले जानकारी दिएकी छन् ।

नेकपा एमाले धादिङ क्षेत्र नम्बर १ का पूर्व क्षेत्रीय उपाध्यक्षसमेत रहेका चरी खाग तस्करी, जबरजस्ती असुली, हत्यालगायतका अपराधमा सक्रिय रहेको प्रहरीले जनाएको छ ।

काठमाडौंको सोह्रखुट्टेमा १४ पुस २०७० मा अर्का ‘गुण्डा’ राधे भण्डारीमाथि तरबार प्रहार गरेपछि चरी फरार रहेका थिए । सिंगापुर र भारतमा बस्दै आएका उनी केही दिनअघि काठमाडौं पसेको थाहा पाएपछि प्रहरीले उनको पिछा गरिरहेको थियो ।

चरी पूर्व मिस टिन एवम् मोडल खुश्वु ओलीसँग ‘अफेयर मा थिए । चरीले चढ्ने गरेको बा १० च ५९९३ नम्बरको गाडी ओलीको ललितपुर धापाखेलस्थित घरबाट प्रहरीले ९ माघ २०७० मा बरामद गरेको थियो ।

करीब रु।९० लाख बराबरको सोही गाडी चढेर धादिङबाट काठमाडौं आउँदा ‘चरी’ माथि २२ असार २०७० मा राधे भण्डारीको समूहले नैकापमा गोली प्रहार गरेको थियो ।

आफूमाथि भएको आक्रमणको बदला लिन १४ पुसमा उनले राधे माथि आक्रमण गराएका थिए ।

त्यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले बालाजुस्थित लजबाट २४ असार २०६८ मा  चरीलाई गैंडाको खाग तस्करीको आरोपमा पक्राउ गरे पनि राजनीतिक दबाबका कारण उनी छुटेका थिए ।

त्यसैगरी १३ वैशाख २०६८ मा विभिन्न ब्यापारीसँग असुली गरेको रु २१ लाखको चेक र हतियारसहित थानकोटबाट पक्राउ पर्दा पनि उनी छुट्न सफल भएका थिए ।

यो पनि

मोडल खुश्बुको घरमा ‘चरी’ को गाडी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>