थप समाचारबिहीबार, साउन २२, २०७१
नर्वेमा नेपाली कर्मी (तस्वीर पनि)
–मारिट बाक्के, नर्वेबाट

झन्डै एक टन वजनको ढुंगा गाउस्टाडटोप्पेनको चुचुरो नजिकै तह लगाउँदै नेपाली कामदार। तस्वीरहरुः मारिट बाक्के
निमानुरु शेर्पा इक्युरोइल हेलिकप्टरले झुण्ड्याउँदै ल्याएको कार्गो ठीक ठाउँमा ओराल्न पाइलटलाई इशारा गर्दै थिए। लाग्थ्यो, उनी सोलुखुम्बुकै कुनै लेकमा उद्दारको काममा व्यस्त छन्। खासमा निमानुरु अरु तीन जना नेपाली युवकसँगै नर्वेको १,८८३ मिटर अग्लो गाउस्टाडटोप्पेनको चुचुरोसम्म पुग्ने सिंढी बनाउँदै छन्। राजधानी ओस्लोबाट तीन घन्टाको ‘ड्राइभ’ मा पुगिने यो हिमाल नर्वेको चर्चित पर्यटकीय स्थल हो।
निमानुरुले भनेकै ठाउँमा केही घन्टासम्म ढुंगाका चापटहरू झारेर हेलिकप्टर अदृश्य भयो। अब एक सातासम्म काम गर्न पुग्छ। यो टोलीलाई नर्वेका टिन र भिन्ये नगरपालिकाले गत चार वर्षदेखि हरेक गर्मी याममा पदयात्रा मार्ग मर्मतसुधारका लागि बोलाउने गरेका छन्। छैटौं पटक नर्वे पुगेका निमानुरुलाई टोली नेता भन्दा हुन्छ।
यसैगरी, दोर्जे शेर्पा र भलाकाजी राईको यो दोस्रो नर्वे यात्रा हो भने पूर्णबहादुर मगरको पहिलो। उनीहरू सबै खुन्दे गाउँ (३,८४० मिटर) का हुन्। हिमाल आरोहण अभियानको समेत अनुभव बटुलिसकेका उनीहरूका लागि यो ‘अफ–सिजन’ काम आय बढाउने राम्रो अवसर हो। उनीहरूलाई गियर भेट्टीको कम्पनीले यता ल्याउने गरेको छ। अहिले नर्वेका विभिन्न ठाउँमा खुम्बुका २९ युवक छन्, जो बढीमा पाँच महीना मौसमी काम गरेर फर्कन्छन्।
भेट्टीले शुरुमा नर्वेका पुराना ढुंगे घरहरू मर्मत गर्न नेपालीलाई यहाँ ल्याएका थिए। अहिले उनीहरू गाउस्टाडटोप्पेनदेखि दक्षिण–पश्चिम तटको प्रिचर्स चेयर (प्रेकेस्टोलेन) सम्मका मोहक र महत्वपूर्ण ठाउँहरूमा पनि काम गरिरहेका छन्।
नर्वेमा नेपाली हातहरू किन आवश्यक भयो भने यहाँ ढुंगा सम्बन्धी परम्परागत सीप भएका नर्वेलीहरू दुर्लभ भइसके। अहिलेलाई यिनै नेपालीबाट नर्वेको पुरानो ढुंगे कला ब्युँतिने आशा गर्नुपर्छ।
साप्ताहिक खबरपत्रिका हिमालबाट




