थप समाचारबिहीबार, साउन २२, २०७१

ठगी गर्नेलाई सम्मान

हिमालखबर

नेपाल गुणस्तर तथा नापतौल विभाग नेतृत्वको संयुक्त बजार अनुगमन टोलीले ३० मंसीर २०७० मा नयाँबानेश्वरको थ्री ब्रदर्श आयल स्टोर्सले पाँच लीटर नापमा ४० मिलिलीटर कम पेट्रोल बेचिरहेको फेला पार्‍यो। दैनिक पाँच हजार लीटर पेट्रोल बेच्ने उक्त स्टोर्सले पाँच महीनाको अवधिमा त्यसरी रु.७ लाख ८७ हजार (हे. हिमाल, १२–१८ माघ २०७०) घोटाला गरेको नेपाल आयल निगमको तथ्याङ्कले देखाएको थियो।

तर, त्यही पम्पका संचालक लिलेन्द्रप्रसाद प्रधानलाई सरकारले प्रबल जनसेवाश्री (चतुर्थ श्रेणी) बाट सम्मानित गर्दैछ। यो विभूषणबाट सम्मानित हुनेमा उनी ६९औं नम्बरमा छन्। नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष समेत रहेका प्रधानलाई समाजलाई पुर्‍याएको योगदानस्वरुप विभूषित गर्न लागिएको गृह मन्त्रालयले जनाएको छ। उपप्रधान एवम् गृहमन्त्री वामदेव गौतमको अध्यक्षतामा गठित विभूषण समितिको सिफारिशको आधारमा मन्त्रिपरिषद् बैठकले २२७ जनालाई मानपदवी, २६ जनालाई अलङ्कार र ५० जनालाई पदकबाट विभूषित गर्ने निर्णय गरेको थियो।

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिना सरकारको यो निर्णयले ठगी गर्नेको मनोबल बढाउने बताउँछन्। पम्पवालालाई पुरस्कृत गर्दा पनि उपभोक्ता नठग्नेलाई गर्नुपर्ने उनको भनाइ छ। स्ट्यान्डर्ड नाप र तौल नियमावली, २०२७ अनुसार पाँच लीटरको नापमा १५ मिलिलीटरभन्दा कम पेट्रोल बिक्री गर्नेलाई रु.१ हजार जरिवाना वा एक वर्षसम्मको कैद वा दुवै सजाय हुने प्रावधान छ।

प्रधान संचालक रहेको पेट्रोल पम्पले पूर्वाधार मापदण्ड पनि पूरा नगरेको भेटिएको नेपाल आयल निगमको अनुगमनले देखाएको छ। निगमका कार्यकारी निर्देशक डा. चन्द्रिकाप्रसाद भट्ट नेतृत्वको टोलीले गरेको अनुगमनमा प्रधानको पम्प थ्री ब्रदर्श सहित टेकुको कनक ट्रेड कन्सर्न, नेशनल ट्रेडिङ लिमिटेडको पम्प, तीनकुनेको भ्याली रिकेस र जडीबुटीको कामज्ञ पम्पले पूर्वाधार सम्बन्धी न्यूनतम मापदण्ड पनि पूरा नगरेको फेला पारेको थियो।

गणतन्त्र दिवसको अवसर पारेर १५ जेठमा विभूषित हुनेको नाम सार्वजनिक गरेको सरकारले सम्मान कार्यक्रमको अन्तिम तयारी गरिरहेको छ। गृहमन्त्रालयका सहसचिव एवम् प्रवक्ता लक्ष्मीप्रसाद ढकाल भन्छन्, “घरेलु तथा साना उद्योग विभागले विभूषणहरू तयार पारिरहेको छ, त्यो तयार हुने वित्तिकै सम्मान कार्यक्रम हुनेछ।”

सेन्छेलुङ लिम्बू

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>