समाचारबुधबार, आश्विन १०, २०६९
दश जिल्लामा भारतीय गाडी सञ्चालनमा बैद्य माओवादीको रोक
१० असोज विहानैदेखि चितवनको पुलचोकमा नेकपा–माओवादीका जिल्लास्तरीय नेताहरुले भारतीय नम्बर प्लेटका गाडी र भारतबाट सामान लिएर आउने गाडी रोकिराखेको स्थानीय पत्रकार नारायण ढुंगानाले जानकारी दिए । “चितवनका मुख्य नाकाहरु पुल्चोक, आपटारी, लोथार र रत्ननगरमा नेकपा–माओवादीका कार्यकर्ताहरुले भारतीय नम्बर प्लेटका गाडी र भारतबाट खाद्यान्न बोकेर ल्याउने गाडीलाई रोकीराखेका छन्,” उनले भने । कच्चा पदार्थ र मेशनरी सामानमा भने रोक लगाइएको छैन । चितवनसहित मकवानपुर, धादिङ, काभ्रेलगायत जिल्लामा सवारीसाधन सञ्चालनमा रोक लगाएको हो ।
‘भारतीय सवारीसाधनले नेपालको कृषि उत्पादनको बजारलाई प्रभाव पार्ने गरी कृषिजन्यपर्दाथका साथै चाँडै नष्ट हुने माछा, केरा, दूध आदिको ओसारपसार गरिहेको र यसले स्वदेशी उत्पादन त्यसै खेर गइरहेकाले’ त्यसलाई नियन्त्रण गर्न सवारीसाधन सञ्चालनमा रोक लगाइएको नेकपा माओवादी चितवनका नारायण शर्माले वताए ।
हिन्दी गीत र च्यानलमा पनि रोक
त्यस्तै हिन्दी चलचित्र प्रदर्शन गर्न र हिन्दी गीत प्रसारण गर्नमा समेत रोक लगाइएको नेकपा–माओवादी चितवनका जिल्ला नेता नारायण शर्माले वताएका छन् । चितवनस्थित कालिका एफएमका स्टेशन म्यानेज रिना गुरुङ्ले आफ्नो रेडियोले हिन्दी गीत नबजाएको जानकारी गराईन् । माओवादीका कार्यकर्ता आफैं आएर हिन्दी गीत संगीत नबजाउन आग्रह गरेको कालिका एफएमकै विजयराज अधिकारीले जानकारी दिए । स्थानीय केवल टेलिभिजनहरुले हिन्दी च्यानलहरु प्रसारण गरिरहेका छैनन् ।
त्यसै गरी नेपाली सङ्गीतबजारले गति लिन नसकिरहेको बेला हिन्दी चलचित्र प्रदर्शन र गीतहरू प्रसारण गर्न उपयुक्त नहुने भन्दै नेकपा–माओवादीले गीत प्रसारण र चलचित्र प्रदर्शनमा रोक लगाइएको बताएको छ ।
