थप समाचारआइतबार, साउन २५, २०७१
जनैपूर्णिमा (फोटो फिचर)
सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा आज पनि प्रचलित छ ।
मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन वैदिक परम्पराअनुसार मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको नाडीमा बाँधिदिने परम्परा छ ।
आजकै दिन तागाधारीले जनै अर्थात् यज्ञोपवित फेर्ने परम्परासमेत छ । यसका लागि अघिल्लो दिनदेखि केशमुण्डन गरी एक छाक मात्र खाएर चोखो गरी बस्ने गरिन्छ । यसरी व्रत बसेका तागाधारीले आज बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दतिवन र सप्तमृत्तिका लगाएर स्नान गर्छन् ।
स्नानपछि जौतिल र कुशद्वारा ऋषिलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेरिन्छ । यसरी जनै फेर्ने गरिएकाले नै आजको दिनलाई जनैपूर्णिमासमेत भनिन्छ ।
आजको दिन शरीर शुद्ध गरी देवता, सप्तर्षि र पितृलाई पनि तर्पण गरिने भएकाले नै ऋषितर्पणीसमेत भन्ने गरिएको हो । विशेषतः आजको दिन सप्तर्षि (वसिष्ठ, विश्वामित्र, कश्यप, जमदग्नि, अत्रि, भरद्वाज, गौतम) लाई तर्पण दिने गरिन्छ ।
आजका दिन एघार थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर क्वाँटी बनाई खाने परम्परासमेत रहेको छ । क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षभरि खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक मान्यता छ ।
नेपालको तराईक्षेत्रमा भने रक्षाबन्धन पर्व दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाउने गरिन्छ । यसबाट दिदी बहिनी र दाजुभाइका बीचमा प्रेमसम्बन्ध बढ्छ भन्ने लोकविश्वास छ ।
आजको दिनलाई नेवारी समुदायले भने गुन्हु पुन्ही भनी मनाउने गर्छन् । विशेषगरी क्वाँटी खाने परम्परा नेवारी समुदायको यसै पर्वबाट आएको हो भन्ने तर्क पनि एकथरि संस्कृतिविद्को छ ।
बौद्ध धर्माबलम्बीले भने आजको दिनलाई भगवान गौतम बुद्धले कामशक्तिमाथि विजय प्राप्त गरेको सम्झनाको दिनका रूपमा मनाउने गर्छन् । बौद्ध धर्मग्रन्थ ‘ललित विस्तार’मा यससम्बन्धी विस्तृत रूपमा व्याख्या गरिएको छ ।
