समाचारआइतबार, साउन २५, २०७१
पूर्वाञ्चल बन्द खुल्यो
झापा सदरमुकाम चन्द्रगढीमा भएको सर्वपक्षीय वार्ताबाट दुईबुँदे सहमतिपछि २५ साउन साँझदेखि यातायात चल्न थालेको हो । सहमतिसँगै बन्द आह्वानकर्ता यातायात व्यवसायी गाडी चलाउन सहमत भएका छन् ।
वार्तामा २१ साउनमा झापाको काँकडभिट्टामा पक्राउ परेका मजदुरमध्ये म्याद थप नभएकालाई तत्कालै छाड्ने र पक्राउपछि म्याद थप भएकालाई कानूनी प्रक्रिया पुर्याएर छाड्ने सहमति भएपछि व्यवसायीले बन्द फिर्ता लिएका छन् । उज्यालो यातायातले २१ साउनमा लामो दूरीको यातायात शुरु गर्दा मेची यातायात संघले अवरोध गरेपछि झडप हुँदा आठ जना पक्राउ परेका थिए ।
उज्यालो यातायात प्रालीले काँकडभिट्टाबाट लामो दूरीको बस चलाउन थालेपछि मेची यातायात संघले एकद्धार प्रणलीबाट बस चलाइनुपर्ने भन्दै अवरोध श्रृजना गरेपछि यातायात अवरुद्ध भएको थियो ।
यातायात व्यवस्थित गर्ने लगायतका विषयमा भने वार्ता जारी रहेको झापाका प्रमुख जिल्ला अधिकारी एकमणि नेपालले जानकारी दिए ।
यसैबीच, झापाको चन्द्रगढीमा दुईबुँदे सहमति भएपछि कोशी र सगरमाथामा हुँदै आएको बन्द पनि खुलेको छ । सुनसरी धरानमा २५ साउनमा बसेको व्यवसायीको बैठकले बन्द खुल्ला गर्ने निर्णय गरेका छन् ।
मेचीमा भएको बन्दको समर्थनमा २३ साउनदेखि कोशी र २४ साउनदेखि सगरमाथाका यातायात व्यवसायीले पनि गाडी चलाएका थिएनन् ।
गोपाल गडतौला, झापा
