थप समाचारबुधबार, साउन २८, २०७१
नयाँ बीउ खेतमा पुगेन

क्षेत्रीय कृषि अनुसन्धान केन्द्र खजुरा, बाँकेमा धानबाली सम्बन्धी जानकारी लिंदै कृषि वैज्ञानिकका साथ किसान। तस्वीर सौजन्यः क्षेत्रीय कृषि अनुसन्धान केन्द्र खजुरा, बाँके
सिंचाइ सुविधा नभएको र आकाशे पानी नपरेकाले १९ साउनसम्म बाँकेमा ७० प्रतिशत मात्र रोपाइँ भयो। अघिल्लो वर्ष यही अवधिमा ९० प्रतिशत रोपाइँ भएको थियो।
गत वर्ष शतप्रतिशत रोपाइँ भएको बाँकेमा यो वर्ष करीब ८० प्रतिशत मात्र हुने जिल्ला कृषि विकास कार्यालयको अनुमान छ। यसो हुँदा राम्रो फल्दा पनि २० प्रतिशत उत्पादन घट्नेछ। यस्तोमा मध्यपश्चिम तराईका किसानका लागि विकास गरिएको धानको बीउ पनि अधिकांश किसानकोमा पुगेको छैन।
बाँकेमा ३६ हजार ५०० हेक्टरमा धान खेती हुनेमा १० हजार २२० हेक्टरमा मात्र सिंचाइ सुविधा छ। सिंचाइ सुविधा नभएका क्षेत्रका लागि भनेर कृषि अनुसन्धान परिषद् (नार्क) ले करीब चार वर्षअघि सुक्खा–१, सुक्खा–२ र सुक्खा–३ जातका धान विकास गरेको थियो। तर जिल्ला कृषि विकास कार्यालयका बाली विकास अधिकृत हसमुल्लाह खाँ बाँकेमा करीब दुई प्रतिशत किसानले मात्रै यी धानको खेती गर्ने बताउँछन्। ६५ प्रतिशत किसानले पानी प्रशस्त चाहिने राधा–४ को खेती गर्छन् भने बाँकीमध्ये अधिकांशले पानी पर्याप्त चाहिने राम धान नै रोप्छन्।
राधा–४ प्रशस्त पानी हुँदा प्रतिहेक्टर ३.५ टनसम्म फल्छ, सुक्खा सहने धान भने पानी नपाउँदा पनि त्यति नै फल्छ। क्षेत्रीय कृषि अनुसन्धान केन्द्रका वैज्ञानिक रामबहादुर खड्का किसानसम्म धान पुर्याउने जिम्मा कृषि कार्यालयको भएको बताउँछन्। कृषि विकास कार्यालयले भने यो धानको पर्याप्त प्रचार गरेको देखिंदैन। कार्यालय प्रमुख राजेन्द्र श्रेष्ठले पनि जिल्लाका ६ गाविसका किसानलाई यो वर्ष आधा किलोग्रामका दरले मात्र यो धानको बीउ वितरण गरेको स्वीकारे। बाँकेमा ४६ गाविस छन्।
बाली विकास अधिकृत हसमुल्लाह खाँ ‘टेक्नोलोजी ट्रान्सफर’ हुन समय लाग्ने हुनाले अधिकांश किसानकहाँ पुग्न अझै केही वर्ष लाग्ने बताउँछन्। सुक्खा ठाउँका लागि नार्कले सुक्खा–४, ५ र ६ विकास गरेर सिफारिश गरेको छ।
नार्कको प्रस्ताव जातीय उन्मोचन समितिबाट उन्मोचनको लागि सिफारिश भएको हो। सोना मन्सुली जातको बीउमा सुक्खा सहन सक्ने जीन हालेर सुक्खा–५ र संसारभर प्रसिद्ध आईआर–६४ नामक धानको बीउमा सुक्खा सहन सक्ने जीन हालेर सुक्खा–६ बनाइएको छ। अनुसन्धान केन्द्रका वैज्ञानिक खड्काले किसान, बजार र उपभोक्ताका लागि पुरानै स्वादको धानमा सुक्खा सहने जीन हालिएको बताए। क्षेत्रीय कृषि अनुसन्धान केन्द्रले यो वर्ष नयाँ सिफारिश गरिएका धानको १.७ टन मूल बीउ उत्पादन गर्ने लक्ष्य राखेको छ।
तुफान न्यौपाने, नेपालगञ्ज
