समाचारबुधबार, साउन २८, २०७१
इबोला भाइरस संक्रमण रोक्ने रणनीति तयार
इबोला भाइरस (इबोला हेमोरेजिक फिभर) नामको भाइरस विश्वव्यापि रुपमा फैलिँदै गएपछि सरकारले रणनीति तयार पारेको हो । विश्व स्वास्थ्य सङ्गठनले आपत्कालीन घोषणा गरेको संक्रमण रोकथामका लागि रणनीति तयार पारेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री खगराज अधिकारीले जानकारी दिए ।
रणनीतिमा नेपाल भित्रिने हवाई तथा पैदल मार्गका नाका सबैमा विशेषज्ञ टोलीसहित स्वास्थ्य परीक्षण टोली रहने, यसका शङ्कास्पद बिरामीलाई उपचार गर्न वीर र शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालमा आवश्यक व्यवस्था गर्ने उल्लेख भएको उनले बताए ।
सङ्क्रमण देखिएका देशहरुबाट फर्किएका नेपालीलाई २१ दिनसम्म उनीहरुका घरपरिवार र अन्य व्यक्तिगत सम्पर्कमा आउन नदिइ चिकित्सकको निगरानीमा राख्ने, त्यो अवधिसम्म केही नदेखिएमा मात्र घर परिवारसँग सम्पर्कमा आउन दिने, सङ्क्रमण देखिएका देशहरुबाट खाद्य पदार्थ ,मासु तथा छालाजन्य पदार्थ आयात रोक्ने रणनीतिमा छ ।
इबोला भाइरसबाट बच्ने उपायका बारेमा विभिन्न जनचेतनाका कार्यक्रम ल्याउने मन्त्री अधिकारीको भनाइ छ । उनले भने, “रोग रोकथाम गर्न मन्त्रालय सक्षम छ, बजेटको अभाव हुँदैन, यस विषयमा अनावश्यक राजनीति कसैले गर्नु हुँदैन ।”
