समाचारबिहीबार, साउन २९, २०७१
पहिरोले जाजरकोटमा ४ को मृत्यु, उद्धारका लागि हेलिकप्टर मगाइयो
२९ साउन विहान घरमाथिवाट खसेको पहिरोले घर वगाउँदा जाजरकोटको सक्ला–३ वडालाकी नवरती वोहरा र उनका ८ वर्षीय छोरा नवराज वोहरा, रामीडाँडा–९ धौलाकोटका १० वर्षीय इसाक नेपाली र नायकवाडा-५ का ९ वर्षीय प्रकास नेपालीको ज्यानगएको जाजरकोटका प्रहरी नायव उपरीक्षक चक्रवहादुर सिंहले जानकारी दिए ।
गम्भीर घाईते भएका मारामीडाँडा–९ का ४० वर्षीया सुधा नेपाली, १२ वर्षीय काले नेपाली, १२ वर्षकै देवी नेपाली, ६ बर्षीया शारदा नेपाली, ३० बर्षीय कर्णे नेपाली र ९ बर्षीया कमला नेपालीलाई उपचारका लागि हेलिकप्टर बोलाउनुको विकल्प नरहेको स्थानीय चन्द्रबहादुर खड्काले जानकारी दिए ।
सडकबाटो बन्द भएको र नजिकै अस्पताल नहुँदा उनीहरुको जीवन खतरामा रहेको खडकाले बताए ।
त्यस्तै सकला–३ का जयलाल वोहरा, उनकी छोरीहरु १३ वर्षीया आरती वोहरा र १० वर्षीया कमला वोहरा र सकला–८ का डीलवहादुर नेपाली पनि घाइते भएका छन् ।
दर्जनौं घर, पुल र पानी घट्ट बगे
स्थानीय नाथ्रा खोलामा आएको बाढीले ५ ओटा काठेपुल बगाएको छ भने रामीडाडाँ, रोकायगाँउ र सकलाका ४० घर निकै जोखिममा रहेको प्रहरीले जनाएको छ ।
स्थानीयका अनुसार करिब २४ घर त्यही संख्यामा पानी घट्ट पहिरोले बगाएको छ ।
पुलबगाएपछि रामीडाँडा र रोकायगाँउगाविसको आवतजावतबन्दभएको छ ।
अहिले पनि पानी परिरहेकोले उद्धारमा कठिनाई भएको र घटनाको पूर्ण विवरण प्राप्त हुन नसकेको प्रहरीले जनाएको छ ।
सदरमुकाम खलंगामा बसेको जिल्ला दैवीप्रकोप समितिको बैठकले भौगोलिक विकटताका कारण घाईतेको उद्धार गर्न समस्या परेकोले हेलिकोप्टरबाट घाइतेहरुको उद्धारका लागि सरकारलाई अनुरोध गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले जानकारी दिएका छन् ।
राजेन्द्र कार्की, जाजरकोट
