समाचारशुक्रबार, साउन ३०, २०७१
पुनरावलोकन समितिको सूचिमा नरहेका डिआइजीको पनि बढुवा
सरकारले ९ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षकमा (एआइजी) मा बढुवा गरेको छ ।
बढुवा सिफारिस समितिले २ महिनाअघि ७ डिआजीको बढुवा प्रक्रिया अघि बढाएकोमा असन्तुष्ट डिआइजीहरुले सिफारिस पुनरावलोकन समितिमा उजुरी दिएपछि बढुवा प्रक्रिया लम्बिएको थियो । पुनरावलोकन समितिले बढुवा समितिको सूचि सच्चाएपछि पनि गृहमन्त्रालयको अडानले गर्दा बढुवा हुन सकेको थिएन ।
२९ साउन राति अवेरसम्म बसेको मन्त्रिपरिषद बैठकले बढुवा समितिले ७ जना डिआइजीको बढुवा प्रक्रिया शुरु गरेकोमा ९ जना डिआइजीको बढुवा गरेको हो ।
डिआइजीबाट बढुवा भई एआइजी हुने प्रहरी अधिकारीहरुमा राजेन्द्रसिंह भण्डारी, सुरेन्द्रबहादुर शाह, विज्ञानराज शर्मा, प्रतापसिंह थापा, वीरेन्द्रबाबु श्रेष्ठ, रमेशशेखर वज्राचार्य, केदारप्रकाश साउद, गणेशराज राई र नारायण बस्ताकोटीे छन् ।
बढुवा समितिले सिफारिस गरेकामध्ये पुनरावलोकन समितिले डिआइजी रमेश शेखर बज्राचार्य र केदार साउदको नाम हटाएर गणेश राई र नारायण वस्ताकोटीको नाम थपेको थियो ।
तर मन्त्रीहरुले ‘आफ्ना मान्छे’ को बढुवा हुनै पर्ने अडान लिएपछि बज्राचार्य र साउद समेतको मन्त्रिपरिषदले बढुवा गरेको बुझिएको छ ।
गृह सचिव संयोजक रहने बढुवा सिफारिस समितिको निर्णय चित्त नबुझी उजुरी परेमा लोकसेवा आयोगका अध्यक्ष संयोजक र मुख्य सचिव तथा कानून सचिव सदस्य रहने सिफारिस पुनरावलोकन समितिले प्रहरी अधिकारीकव् बढुवा सच्चाउन सक्ने ब्यवस्था छ ।
