समाचारशुक्रबार, आश्विन १२, २०६९
एमालेका असन्तुष्ट नेताहरु पार्टी जिम्मेवारीमा फर्किए
असन्तुष्ट मध्येका पोलिटब्युरो सदस्य रामचन्द्र झा, पृथ्वीसुब्बा गुरुङ र केन्द्रीय सदस्यहरू दलबहादुर राना, किरण गुरुङ, र वीरबहादुर लामा ११ असोजमा पार्टीका शीर्ष नेताहरुसँगको वार्तापछि जिम्मेवारीमा फर्केका हुन् ।
राज्य पुनःसंरचना सम्बन्धमा फरक मत राख्दै पार्टीबाट अलग हुने भन्दै आएका नेताहरु र पार्टी अध्यक्ष झलनाथ खनालसहितका शिर्ष नेताहरुबीच भएको सहमतिमा फरक मत राखेको आधारमा कसैप्रति भेदभाव नगर्ने, पार्टीबाट संस्थागत रुपमा राज्य पुनःसंरचनाको विषयमा रहेको फरक मतका सम्बन्धमा अन्तरपार्टी छलफल गर्ने भनिएपछि उनीहरु जिम्मेवारीमा फर्केका हुन् ।
उपाध्यक्ष राईलगायतका अन्य नेताहरूले पार्टीले एकल पहिचानका आधारमा सङ्घीयतामा जानुपर्ने भन्दै १८ असोजमा असन्तुष्टहरुको भेला डाकेका बेला असन्तुष्टहरुको यो समूह जिम्मेवारीमा फकेर्को हो ।
“सबै नेता र कार्यकर्ताहरुलाई सम्मान र स्वाभिमानका साथ पार्टी काममा लाग्न अनुकुल परिस्थिति निर्माण गरिने छ,” सहमतिपछि पार्टीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “राज्य पुनःसंरचनाको बिषयमा पार्टी निर्णयसँग असहमत रहँदै आउनु भएका कमरेडहरु आजकै मितिदेखि आ–आफ्ना जिम्मेवारीहरु सम्हाल्ने गरी पार्टी काममा क्रियाशिल हुने ।”
जिम्मेवारीमा फर्केका पोलिटब्युरो सदस्य झाले अन्तरसंघर्ष भए पनि आफूले पार्टी नछोडेको भन्दै बिहीबारदेखि नै पार्टी जिम्मेवारीमा क्रियाशिल भएको बताए । “लामो समय बाहिर रहेर पार्टी विगार्न चाहेनौं,” उनले भने ।
बैठकको अन्त्यमा अध्यक्ष झलनाथ खनालले असन्तुष्ट नेताहरुको अभिब्यक्तिप्रति सम्मान गर्दै मतभेदहरुलाई अन्तरपार्टी छलफलको विधिद्वारा ब्यवस्थापन गरिने बताएका थिए ।
