समाचारशुक्रबार, साउन ३०, २०७१
गृहमन्त्री भन्छन, ‘सबैठाउँमा उद्धार गर्न सकिएको छैन’
३० साउनमा ब्यवस्थापिका संसदको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिंदै गृहमन्त्री वामदेव गौतमले सिन्धुपाल्चोकको माङ्खाबाट शुरु भएको विपत्ति मुलुकभर फैलिएको र कतिपय स्थानमा उद्धार कार्य अगाडि बढाउन नसकिएको बताएका छन् ।
“कतिपय स्थानमा सुरक्षाकर्मी उद्धारका लागि जानै नसक्ने स्थिति पैदा भएको छ । कहिले काठमाडौँ उपत्यकाको आकाशमा जहाज उड्न नसक्ने र तोकिएको गन्तव्यमा समेत अवतरण गर्न नसकेको अवस्था छ, हेलिकोप्टर पूर्ण तयारी हालतमा राखिएको छ ।मौसम खुल्ने वित्तिकै उद्धार सुरु हुन्छ ।”
गृहमन्त्रीले नेपाल–भारत सिमा क्षेत्रमा हुने डुबानलगायतका समस्या समाधानका लागि परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक पहल शुरु गरिएको दाबी गरे ।
गौतमले उद्धार कार्यमा सरकारले क्षमता अनुसारकोे जनशक्ति र प्राविधिक सहयोग उपलब्ध गराएको भन्दै देशभर नै विपत्ति आएकाले सवै ठाउँमा उद्धार गर्न नसकिएको लाचारी व्यक्त गरेका थिए ।
