समाचारशनिबार, साउन ३१, २०७१

एमाले बैठकः पोलिटब्युरो र स्थायी कमिटी चयन भएन

हिमालखबर

यही २७ साउनदेखि प्रारम्भ भएको एमाले केन्द्रीय कमिटीको दोस्रो बैठकले विधान संशोधनलाई अन्तिम रुप दिन नसक्दा पोलिटब्युरो तथा स्थायी कमिटीको निर्वाचनको कार्यसूचीमा छलफल नगरेरै टुंगिएको छ । थाती रहेका कार्यसूचीमा आगामी १० असोजमा बस्ने तेस्रो बैठकमा छलफल हुने एमालेले जनाएको छ ।

महाधिवेशनमा प्राप्त सुझावका आधारमा विधान संशोधनको प्रतिवेदन पेस गर्न महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा गठित सम्पादन कार्यदलको प्रतिवेदनमा विवाद उत्पन्न भएपछि अब पदाधिकारी र वरिष्ठ नेताको परामर्शमा चाँडै त्यसलाई टुङ्गो लगाउने निर्णय बैठकले गरेको छ ।

विधानको धारा ३८ मा उल्लेख गरिएको पार्टीका स्थायी कमिटी र पोलिटब्युरोमा उम्मेदवार हुन एक कार्यकाल केन्द्रीय सदस्य भएकाले मात्रै पाउने या सबैले पाउने भन्नेमा बैठकमा विवाद भएको थियो ।

विवाद लम्बिएपछि अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालले बैठकलाई छरितो बनाउन ३० साउनमा आग्रह गरेका थिए ।

पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले देशमा बाढीपहिराले जनजीवन अस्तव्यस्त भएका बेला नेताहरू कार्यक्षेत्रमा जान निर्देश गर्दै बैठकलाई सकाइएको र अन्य विषयमा निर्णय नभएको बताइन् ।

सचिव प्रदीपकुमार ज्ञवालीले पनि संविधान निर्माण र सरकार सञ्चालनका क्रममा विभिन्न दलबीच वार्ता र छलफल गर्नुपर्ने भएको तथा मुलुकमा प्राकृतिक विपत्ति बढिरहेकाले बैठकलाई चाँडो सक्न बैठक टुङ्ग्याइएको जानकारी दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>