समाचारबिहीबार, भाद्र ५, २०७१
राष्ट्रहित विपरितका सम्झौता हुन्नः प्रधानमन्त्री
प्रधानमन्त्री कोइरालाले नेपाललाई तल पारेर कुनै पनि सम्झौता नहुने बताएका हुन् । ५ भदौमा प्रधानमन्त्री निवास बालुवाटार पुगेका नेकपा–माओवादीसहित १० दलका प्रतिनिधिसँग उनले राष्ट्रहित विपरित कुनै पनि सम्झौता नहुनेमा ढुक्क हुन बताए ।
ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले नेपाललाई तल पारेर कुनै सम्झौता नुहनेमा आश्वस्त पारे । प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीका अनुसार प्रधानमन्त्रीले राष्ट्रियतामा आँच आउन नदिने स्पष्ट पारेका छन् ।
प्रधानमन्त्री कोइरालाले भारतको हिजो र अहिलेको अवस्थामा परिवर्तन आएकाले सधै शङ्काको दृष्टिकोणले मात्र नहेर्न आग्रह गरेका छन् । हालै भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री सुषमा स्वराजले नेपाल भ्रमणका क्रममा आफ्ना छिमेकी राष्ट्रसँग समानता र सार्वभौमिकताको आधारमा सम्बन्ध विकसित गर्न चाहेको तथा थिचोमिचोमा पारेर लेनदेन गर्न नचाहेको कुरा आफूसँग राखेको प्रधानमन्त्रीले बताएको प्रेस संयोजक अधिकारीले जानकारी दिए ।
भारतसँगको विद्युत् व्यापार सम्झौता र माथिल्लो कर्णालीको आयोजना विकास सम्झौता हस्ताक्षर नगर्न माग गर्दै १० दलका प्रतिनिधि बालुवाटार पुगेका हुन् । १० दलले बुझाएको ज्ञापनपत्रमा भारतसँग सम्झौता गर्नुपरे सर्वदलीय सहमति कायम गरेर मात्रै गर्र्नुपर्ने, आन्तरिक आपूर्तिमुखी विद्युत् परियोजना निर्माण राज्यले मात्रै गर्नुपर्ने, निजी क्षेत्रले विद्युत् निकाल्दा चिलिमे र माथिल्लो तामाकोसी नमुनाअनुसार बनाउनुपर्ने उल्लेख छ ।
रासस
