समाचारसोमबार, भाद्र ९, २०७१
फेवाताल किनारको रेष्टुरेन्ट पुरिंदा एकको मृत्यु
-माधव बराल, पोखरा
पोखराको फेवाताल किनारमा रहेको टिपिकल रेष्टुरेन्ट पहिरोले पुरिंदा एक जनाको मृत्यु भएको छ भने तीन जना वेपत्ता छन् । कास्कीको पुम्दीभुम्दी गाविस—१ अनदुस्थित फेवाकिनारमा रहेको रेष्टुरेन्ट ८ भदौ राति आएको पहिरोले पुरिएको हो ।
पहिरोमा परी रेष्टुरेन्टमा कार्यरत ओखलढुंगा गामलङटारका २२ वर्षीय प्रकाश मगरको मृत्यु भएको छ । उनको शव बिहान फेला परेको कास्कीका प्रहरी प्रमुख एसपी बसन्तकुमार लामाले जानकारी दिए ।
पहिरोले रेष्टुरेन्ट पुरिंदा रामेछाप सैबु–६ का १८ वर्षीय भुवन मगर, धादिङ कल्लेरीका २२ वर्षीय राम मगर र सिन्धुली आङसाङ घर भएका २२ वर्षीय मोहन मगर वेपत्ता छन् । वेपत्ताको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले खोजि गरिरहेको एसपी लामाले बताए ।
९ भदौ बिहान मात्र घटनाबारे थाहा पाएपछि उद्दार टोली घटनास्थलमा पुगेको हो । खोल्साबाट बगेर आएको ढुंगामुढा सहितको भेलले रेष्टुरेन्ट पुरेको छ ।
रेष्टुरेन्टमा पहिरो आएको राति भने कोही पाहुना थिएनन् । रामेछाप सैवु–६ का गोकुल मगरले नौ वर्षदेखि चारकोठाको लज सहितको रेष्टरेन्ट संचालन गर्दै आएका थिए ।
