समाचारसोमबार, भाद्र ९, २०७१
भट्टराई पक्षद्वारा चितवनमा समानान्तर कमिटी
नयाँ नेतृत्व चयन भएको दुई साता नबित्दै एमाओवादी जिल्ला कमिटी चितवनमा समान्तार कमिटी गठन भएको हो । अध्यक्ष पुष्पकमल दाहाल पक्षले एकलौटी ढङ्गले काम गरेको आरोप लगाउँदै बाबुराम भट्टराई पक्षधरले समानान्तर कमिटी गठन गरेका छन् ।
भट्टराई पक्षका नेता अमर रेग्मीको अध्यक्षतामा ४१ सदस्यीय समानान्तर समिति गठन गरिएको नेता विष्णुहरि तिमिल्सिनाले जानकारी दिए । पार्टीभित्र अध्यक्ष दाहालले अल्पमतको कदर गर्न नसकेकाले दबाब दिन यस्तो कदम चालिएको उनले बताए ।
९ भदौमा गठन गरिएको कमिटीको संयोजक रेग्मी तोकिए पनि अन्य पदाधिकारी भने छानिएको छैन ।
यसअघि, साउन अन्तिमसाता चितवनमा एमाओवादी पार्टीको सातौँ सम्मेलनपछिको पहिलो बैठकले अध्यक्षमा दाहाल पक्षीय नेता यमबहादुर परियारलाई अध्यक्ष चयन गरेको थियो । उनको नेतृत्वमा ५१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको थियो ।
विवादका कारण लामो समयपछि कार्य समिति चयन भए पनि त्यसको दुईसाता नबित्दै अहिले समानान्तर कमिटी गठन भएको हो ।
रासस
