समाचारबुधबार, भाद्र ११, २०७१
पहिरोले एकै परिवारका ४ कोे मृत्यु (अपडेट)
सिन्धुपाल्चोकको महाँकाल गाविस– ६ बल्देमा पहिरो खस्दा ३३ वर्षीय दिलबहादुर तामाङ, उनका बाबु ७५ वर्षीय मानबहादुर तामाङ्, १२ वर्षीया छोरी एलिसा र पाँच वर्षीय छोरा प्रशान्तको मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी नायब निरीक्षक विष्णु श्रेष्ठले जानकारी दिए ।
पहिरोमा परी दिलबहादुरकी श्रीमती मोती तामाङ र छोरी अञ्जली तामाङ घाइते भएका छन् । दिलबहादुर नेपाल विद्यार्थी सङ्घको पूर्व क्षेत्रीय सचिव तथा स्थानीय प्राविका शिक्षकसमेत थिए ।
पहिरोले बोल्देका अन्य ५० घर पनि जोखिममा परेका छन् भने मेलम्ची खानेपानी आयोजनाको ग्याल्थुम अडिट सुरुङ क्षेत्रलाई पनि क्षति पु¥याएको छ ।
स्थानीयवासी स्थानीय सञ्च तामाङले पहिरोबाट मेलम्ची सुरुङ क्षेत्र र बोल्दे गाउँ उच्च जोखिममा परेकाले तत्काल उद्धार र राहत कार्य शुरु हुनुपर्ने बताएका छन् ।
बोल्दे गाउँलगायत महाँकाल र इचोक गाविसका केही गाउँहरु सुरुङका कारण जोखिममा रहेको सूूचना यस अगाडिनै सार्वजनिक भइसकेका थिए । तर ती गाउँहरुलाई पुनर्वास गराउन आयोजनाले कुनै कार्यक्रम ल्याएको छैन ।
यसैबीच बोल्दे पहिरो र रातभरिको अविरल वर्षाका कारण ग्याल्थुम खोलामा आएको बाढीले महाँकाल गाविस–१, ५ र ९ मा सयौँ रोपनी खेत कटान गरेको छ भने वडा नं १ मा चार वटा टहरा बगाएको छ ।
मेलम्ची खानेपानी आयोजनाको सहायक मार्गमा जाने फलामे पुल, सुरुङ निर्माणका लागि कार्यालयमा राखिएका सामानहरु पनि बगाएको छ । सोही स्थानमा थप पहिरो गएकाले भारती गाउँका १२ घर उच्च जोखिममा परेको घटनास्थलमा रहेका इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी नायब निरीक्षक विष्णु श्रेष्ठले जानकारी दिए ।
रासस
