समाचारबुधबार, भाद्र ११, २०७१

मलेशियामा कारखानामा आगजनी गरेको आरोपमा नेपाली मजदुरहरु पक्राउ

हिमालखबर

मलेशियाको जोहरमा इलेक्ट्रोनिक सामान उत्पादन गर्ने कारखानाका नेपाली मजदुरको १० भदौमा मृत्यु भएपछि आक्रोशित मजदुरहरुले कारखानामा आगो लगाएका छन् । समाचार एजेन्सी रोयटर्सले आगजनी र तोडफोडमा १ हजार मजदुरहरुको संलग्नता रहेको र त्यसमध्ये धेरै नेपाली नागरिक रहेको स्थानीय प्रहरीलाई उद्धृत गर्दै उल्लेख गरेकोे छ ।

मजदुरहरुले इलेक्ट्रोनिक सामान निर्यात गर्ने उक्त कारखानाको एक भाग पूरै ध्वस्त पारेको समाचारमा उल्लेख छ । मलेशियामा कार्यरत करिब ४० लाख मजदुरहरु असुरक्षित रहेको मजदुरहरुले बताएका छन् । झापाका हर्कबहादुर निरौलाको छातिमा समस्या आएपछि कम्पनीले उपचारका लागि कुनै पहल नगरेको र उनको मृत्यु भएको मजदुरहरुको भनाई छ । नेपालीहरु पक्राउ परेको समाचार पाएपछि दूतावासका अधिकारीहरु घटनास्थलतर्फ गएको मलेशियास्थित नेपाली दूतावासले जनाएको छ ।

जेसीवाईले सामासुङ, हिताची, वेस्टर्न डिजिटल जस्ता कम्पनीका लागि इलेक्ट्रोनिक पूर्जा उत्पादन गर्ने काम गर्छ ।

“रोजगारीका शर्तसम्बन्धमा कम्पनी र मजदुरबीचको असमझदारीले यस्तो घटना हुनपुग्यो,” जिल्ला प्रहरी उपप्रमुखलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ, “पक्राउ परेकाहरुलाई दंगा विरोधि कानून अन्तर्गत कारवाही हुनेछ ।”

मलेशियाका ठूला इलेक्ट्रोनिक्स, निर्माण र कृषि कम्पनीहरु नेपाल, बंगलादेश र इन्डोनेशिया जस्ता देशका कामदारहरुमा भरपर्दै आएका छन् ।

सन् २०१० मा पनि जेसीवाईमा कार्यरत नेपाली मजदुरको मृत्यु हुँदा त्यहाँका ५ हजार मजदुरहरुले विरोध प्रदर्शन गरेका थिए । त्यसबेला सिकिस्त विरामी भएका मजदुरलाई समयमै अस्पताल पुर्‍याउन कम्पनीले बेवास्ता गरेको मजदुरहरुले आरोप लगाएका थिए ।

गतहप्ता मात्रै क्वालालम्पुरमा रेलवे निर्माणमा काम गरिरहेका मजदुरमाथि ३०० टनको कंक्रिटको भित्तो खस्दा तीन बंगलादेशी मजदुरको मृत्यु भएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>