समाचारबिहीबार, भाद्र १२, २०७१
मन्त्री थापालाई खटाएको छु, कुनै कमी हुँदैनः प्रम कोइराला
प्रधानमन्त्री निवास बालुवाटारमा १२ भदौ विहान बाढी–पहिरो पीडितलाई विभिन्न सङ्घसंस्थाबाट प्राप्त सहयोग रकम हस्तान्तरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री सुशील कोइरालाले बाढी र पहिरोले विनासलीला मच्चाएको भएपनि उद्धार, राहत र पुनःस्थापनामा कुनै कमजोरी हुन नदिइएको दाबी गरेका छन् ।
कोइरालाले पीडितलाई प्रदान गरिने राहत सामग्री र रकम सदुपयोग होस् भन्नेमा आफू चिन्तित रहेको समेत बताए ।
उनले भने,“संयुक्त राष्ट्र सङ्घमा उद्धार, राहत र पुनःस्थापना कामको अनुभव लिनुभएका वाणिज्य तथा आपूर्ति मन्त्रीलाई यसको समन्वय र अनुगमन गर्न खटाएको छु । यसपटक राहत रकम र सामग्रीको सदुपयोग हुनेछ ।”
उक्त अवसरमा सहयोग गर्ने दाताहरुबाट प्रधानमन्त्री कोइरालाको शीघ्र स्वास्थ्यलाभको कामना गरिएपछि प्रत्यूत्तरमा प्रधानमन्त्री कोइरालले भने, “म ठीक छु । संविधान समयमै आउँछ । मुलुकले उज्यालो पाउँछ । नेपालको विकास कसैले रोक्न सक्दैन ।”
भारतद्वारा ४ करोड ७७ लाख सहयोग
कार्यक्रममा भारतीय दूतावासले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ४ करोड ७७ लाख ३९ हजार सहयोग प्रदान गरेको छ । नेपालका लागि भारतीय राजदूत रञ्जित रेले प्रधानमन्त्री कोइरालालाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका थिए ।
राजदूत रेले हालैको बाढी पहिरोबाट पीडितलाई राहत र पुनःस्थापनाका लागि नेपाल सरकारले थालेका काममा सघाउन भारत सरकारका तर्फबाट उक्त रकम प्रदान गरिएको बताए ।
त्यस्तै सिद्धार्थ बैंक, सिभिल बैंक, एपेक्स कलेज र साङ्ग्रिला म्यानेजमेन्ट एण्ड होटल ट्रेनिङ सेन्टरले पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग प्रदान गरेका छन् ।
एपेक्स कलेजका तर्फबाट सञ्चालक समितिका अध्यक्ष एवम् सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजालले प्रधानमन्त्री कोइरालालाई रु १ लाख ११ हजार १११, सिद्धार्थ बैंक लिमिटेडका तर्फबाट अध्यक्ष चिरञ्जीवीलाल अग्रवालले रु १० लाख, सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले रु ५ लाख ७५ हजार र साङ्ग्रिला म्यानेजमेन्ट एण्ड होटल ट्रेनिङ सेन्टरका निरज श्रेष्ठले रु ३० हजारको चेक हस्तान्तरण गरेका थिए ।
रासस
