समाचारशुक्रबार, भाद्र १३, २०७१
पहिरोमा पुरिएर तीनको मृत्यु
नुवाकोटको बेल्कोट गाविस–१ बगुवापाखामा घर पुरिंदा तीन जनाको मृत्यु भएको हो । बगुवापाखामा १२ भदौ राति पहिरोले घर पुरिएको र घाइतेहरुको उपचारका लागि काठमाडौं लैजाने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
मृत्यु हुनेमा २७ वर्षीया गङ्गा ढकाल, उनकी दुई वर्षीया छोरी गरिमा र पाँच वर्षीय छोरा नविन छन् । बेल्कोट गाविसका थुप्रै स्थानमा पहिरो गएको र स्थानीय जनता जोखिममा रहेको प्रहरी नायव उपरीक्षक अरुण पौडेलले बताए ।
घटनास्थलको अवलोकन र थप पहिरोपीडितको उद्धारका लागि नुवाकोटका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला, प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक अरुण पौडेल लगायतका सरकारी अधिकारीहरु घटनास्थल पुगेका छन् ।
यस्तै, १२ भदौ राति परेको पहिरोले पासाङल्हामु राजमार्गअन्तर्गत बेल्कोटको अमारेदेखि विदुर नगरपालिकाको तादीपुलसम्मको सडक क्षतविक्षत पारेको छ । साना–ठूला गरेर २१ वटा पहिरो गएको छ ।
पहिरोका कारण नुवाकोट र रसुवाबाट काठमाडौँ जाने र काठमाडौँबाट यता आउने सवारी साधन सञ्चालन हुन सकेका छैनन् । पहिरोकै कारण नर्जामण्डप गाविस–६ को दुई सय रोपनी धान खेत पुरिएको प्रहरीले जनाएको छ ।
नर्जामण्डपकै वडा नम्बर ३ बञ्चरेमा पहिरो जाँदा नौ घर जोखिममा परेका छन् । माथिबाट आएको पहिरो गाउँको डिलमा थुप्रिएको र थप पहिरो आउने त्रासमा स्थानीयबासिन्दा रहेको शिक्षक रामकृष्ण खनालले जानकारी दिए ।
रासस
