समाचारशनिबार, भाद्र १४, २०७१

सत्य बाहिर आउँदा केहीलाई ग्लानी भएको छः कटवाल

हिमालखबर

तस्वीर: पवन पौडेल

१४ असारमा तनहुँको दमौलीमा आयोजित अन्तरक्रिया कार्यक्रममा पूर्व प्रधानसेनापति रुकमाङ्गद कटवालले हालै प्रकाशित आफ्नो आत्मकथामा सत्य लेखिएको हुँदा केहीलाई असर परेको र उनीहरुले आलोचना गरेको बताएका छन् ।

“मैले इमान्दर भएर सत्य बोल्दा असर पर्नेहरुले आलोचना गरेका हुन्, धेरैले यो रुचाएका छन्, मलाई पनि फाइदा भएको छ,” कटवालले भने ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालतर्फ लक्षित गर्दै उनले भने, “कसैलाई सत्य उजागर हुँदा आत्मग्लानी भएको छ । दुई चार जना कराउँदै हिंडछन्, हात्ती आफ्नो बाटो लम्कन्छ ।”

मूलुकको इतिहासमै जटिल समयका बेला आफू प्रधानसेनापति भएको उल्लेख गर्दै उनले आफूले त्यसबखत गरेका निर्णय ठिक भएको दाबी गरे ।

‘मेरो पुस्तकमा म हिरो’

उनले आफ्नो आत्मकथा भएकाले उक्त पुस्तकमा आफू ‘हिरो’ का रुपमा चित्रित हुनु स्वभाविक भएको प्रतिक्रिया दिए ।

“किताबमा मेरै कथा छ, मेरै दृष्टिकोणबाट लेखिएको हो, त्यसैले म ‘हिरो’ हुनु स्वभाविक नै हो,” कटवालले भने ।

‘राजतन्त्रको सहयोगले ठूलो पदमा पुगेको व्यक्ति राजतन्त्र हट्ने अवस्था आउँदा किन केही गर्नु भएन ?’ भन्ने पाठकको प्रश्नको जवाफ दिंदै उनले त्यो क्षण आफ्ना लागि निकै कठिन भएको बताए ।

“रुक्मांगद कटवाल ब्यक्तिका रुपमा कदम चाल्ने कि प्रधानसेनापतिका रुपमा भन्नेमा दोधारमा थियो,” उनले भने, “सेना प्रमुखको रुपमा निर्वाह गर्नुपर्ने भूमिका नै प्रमुख ठानेर त्यसै अनुसार काम गरें ।”

कार्यक्रममा पुस्तक लेखनका सहयोगी पत्रकार किरण भण्डारीले कटवाललाई संघर्षशील र असाधारण व्यक्तित्वको संज्ञा दिए ।

गण्डकी पुस्तक भण्डारका सञ्चालक रजिनलाल श्रेष्ठले आयोजना गरेको उक्त कार्यक्रममा पाठकहरुले ‘आत्मकथा’ किताबमा कटवालको हस्ताक्षर गराएका थिए ।

पवन पौडेल, तनहुँ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>