समाचारमंगलबार, भाद्र १७, २०७१
‘२१ गतेसम्म सहमति नभए प्रक्रियाबाट निर्णय हुन्छ’
संविधानको मस्यौदा सहमतिमै जारी गर्न दबाब दिने उद्देश्यले रिपोर्टर्स क्लब नेपालले दिएको ज्ञापनपत्र बुझ्दै संविधानसभा अध्यक्ष सुवास नेम्वाङले विवादित विषयमा सहमति नभए असहमतिका बुँदासहित संविधानसभामा पेश गर्न आफूले विभिन्न समितिहरुलाई निर्देशन दिइसकेको बताएका छन् ।
उनले भने, “सहमति भएन भने मैले असहमतिका विषयसहित मस्यौदा संविधानसभामा पेश गर्न निर्देशन दिईसकेको छु । संविधानसभामा प्रक्रियाबाट टुङगो लगाईन्छ ।”
उनले संविधान जारी नगर्ने कुनै पनि बहाना बाँकी नरहेको भन्दै अब दलहरुसँग तोकेकै समयमा जारी गर्नुको विकल्प नरहेको बताए ।
“८ माघ भित्र संविधानजारी हुनै पर्छ । जनताको चाहना र दलहरुको प्रतिबद्धता पनि यही हो । दलहरु जिम्मेवार भएर लाग्नुपर्छ,” नेम्बाङले भने ।
उनले आफूले २१ भदौभित्रै सहमति गर्नका लागि संवैधानिक समितिका सभापतिहरुसंग समेत छलफल गरेको जानकारी दिए ।
“संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुरामजीलाई भनेको छु कि कार्यतालिकाभित्रै काम गसिक्नुस भनेर,” अध्यक्ष नेम्बाङले भने ।
क्लबले भदौ २१ गतेभित्रमा सबै शिर्ष नेताहरुलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम राखेको छ ।
