समाचारमंगलबार, भाद्र १७, २०७१
धनुषाका प्रहरी प्रमुख भन्छन्, ‘सिंघानियाका हत्यारालाई पक्रन सकिन’
धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुवेदीले सञ्चार उद्यमी सिंघानियाका हत्याका प्रमुख योजनाकारलाई कानुनी दायरामा ल्याउन नसकेको बताएका छन् । १७ भदौमा धनुषामा आयोजित पत्रकार सम्मेलनमा उनले सिंघानिया हत्या घटनाका प्रमुख योजनाकारलाई पक्रन नसक्नु आफ्नो असफलता भएको बताए ।
उनले हत्या घटनाको अनुसन्धान सदभावना पार्टीका रामविनोद यादवमा आएर रोकिएको बताए । उनले भने, “यादवको खोजी भइरहेको छ, उनी पक्राउ पर्ने बित्तिक्कै हत्याका प्रमुख योजनाकारहरु कानुनी दायरामा आउने छन् ।”
सिंघानिया निकटका तीन–चार जनाले साझा उद्देश्य पूरा गर्न उनकै हत्या गरेको एसपी सुवेदीले दावी गरे । “सिंघानिया हत्या प्रकरणको ८० प्रतिशत अनुसन्धान सकिएको छ,” उनले भने, “अहिलेसम्मको अनुसन्धानबाट सिंघानिया निकटकाले नै उनको हत्या गरेको देखिएको छ ।”
सिंघानिया हत्यामा संलग्न शुटर दावी गरिएका इकबाल सहनी र असिर राईन भने पक्राउ परिसकेका छन् । सिंघानियाँ हत्यामा शूटरको रुपमा दाबी गरिएका ईकबाल सहनी र अर्का एकजना अंसिर राईन पक्राउ परिसकेका छन् ।
तर, उनले जनकपुरको रामानन्द चोकमा भएको बम बिष्फोट घटनामा भने सफलता पाएको दावी गरे । बम बिष्फोट घटनाका प्रमुख योजनाकार सञ्जय साहलाई प्रहरीले पक्राउ गरिसकेको छ ।
“दुवै घटनाको अनुसन्धान शुन्यबाट शुरु गरेको थिएँ,” उनले भने, “एउटामा सफल भएँ, अर्कोमा सफल हुन सकिनँ ।” उनले अझै केही दिन समय पाएको भए सिंघानिया हत्याका योजनाकार पक्राउ पर्ने बताए ।
एसपी सुवेदी क्षेत्रीय प्रहरी कार्यालय विराटनगरमा सरुवा भएका छन् । उनको ठाउँमा एसपी गणेशबहादुर थापा आउँदैछन् ।
ईश्वरचन्द्र झा, जनकपुर

