समाचारबुधबार, भाद्र १८, २०७१
वीरगञ्ज भन्सारमा भीषण आगलागी
वीरगञ्ज भन्सार कार्यालय परिषरमा रहेको गोदाममा १७ साउन राति २ बजेदेखि लागेको आगो विहान ९:३० बजे नियन्त्रणमा आएकाे छ ।
तेस्रो मुलुक र भारतबाट आयात गरिएको माल वस्तु भण्डारण गरिएको गोदाममा आगलागीबाट भएको क्षतिको हालसम्म यकिन हुन सकेको छैन । २ सय मिटर लामो र १५ मिटर चौडाइ रहेको गोदाममा रु एक अर्बभन्दा बढीको माल वस्तु भण्डार गरी राखिएकोे भन्सार स्रोतले जनाएको छ । मोटरसाइकल, कम्प्युटर पार्टस्, टेलिकमका सामान तेल, रेफ्रिजरेटर ग्याँस सिलिण्डर, कपडालगायत करोडौंका सामान जलेको गोदामका कर्मचारीले बताएका छन् ।
सर्ट सर्किट भएर आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
आगोको गती तीब्र भएकाले पाँचवटा वारुण यन्त्रको मद्दतले समेत घण्टौंसम्म आगो निभाउन सुरक्षाकर्मीले सफलता पाएनन्।
आगो निभाउन वीरगन्ज, कलैया र हेटौंडा नगरपालिकाका र नेपाल आयल निगमको सहित पाँचवटा दमकल साथै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले प्रयास गर्दा पनि सफल नभएपछि दुईवटा डोजरको सहयोगमा गोदामको ढोका फोडी गोदामबाट माल वस्तु निकाल्ने कार्य भइरहेको प्रहरी उपरीक्षक दिवेश लोहनीले जानकारी दिए ।
प्रहरी उपरीक्षक दिवेश लोहनीका अनुसार पश्चिमतर्फबाट आगो लागेको गोदामको केही भाग भत्काएर पूर्वतर्फ रहेका केही सामान जोगाइएको छ ।

