समाचारबुधबार, भाद्र १८, २०७१

संयन्त्र गठनको सहमति भइसकेको छः गौतम

हिमालखबर

उपप्रधानमन्त्री वामदेव गौतमले तीन दलका नेताहरुले पालै–पालो नेतृत्व गर्ने गरि संविधान निर्माण र शान्ति प्रक्रियामा सहजीकरण गर्ने म्याण्डेटसहित उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने सहमति भईसकेको बताएका छन् ।

संविधानको पहिलो मस्यौदा तोकिएको समयमै जारी गर्नका लागि दबाबस्वरुप ज्ञापनपत्र बुझाउन पुगेको रिपोर्टर्स नेपालको टोलीसँगको कुराकानीमा गौतमले संयन्त्र बनाउने सहमति भइसक्दा पनि एमाओवादीले संसद बैठक अवरुद्ध गरिरहेको प्रति आक्रोस ब्यक्त गरे ।

उनले भने, “उच्चस्तरीय राजनीतिक समिति गठनको सहमति भईसके पनि एमाओवादीले संसद अवरुद्ध पारिरहनु आपत्तिजनक छ । एमाओवादीले यो के गर्न खोजेको हो मैले बुझ्न सकिन ।”

उनले एमाओवादी संविधान निर्माणमा इमान्दार नभएको आफूलाई शंका लाग्न थालेको पनि बताए ।

“राजनीतिक संयन्त्र संविधानसभाको विकल्प होईन, सहयोगीको रुपमा गठन हुन्छ । त्यसको नेतृत्व पनि आलोपालो हुन्छ ।” उनले संयन्त्रमा मधेशकेन्द्रित दलहरुलाई सहभागी नगराइने पनि स्पष्ट पारे ।

उनले संविधानका अन्तर्वस्तुमा दलहरुबीच तोकिएको समयभित्र सहमति नभए प्रक्रियामा लगेर भए पनि समयमै संविधान जारी गरिने दाबी गरे ।

“सहमति र असहमतिका बुँदालाई हामी संविधानसभामा लगेर छलफल गर्छौ,” गौतमले भने, “त्यसपछि मस्यौदा लिएर जनतामा जान्छौं, जनताको सुझावसहित संविधान सभामा गएर ८ माघभित्रै संविधान जारी गर्छौ ।”

‘वैद्यको माग पूरा गर्न सकिंदैन’

उपप्रधानमन्त्री वामदेव गौतमले नेकपा–माओवादीले माग गरेजस्तो सर्वपक्षीय भेलाबाट संविधान जारी गर्न नसकिने बताएका छन् ।

गौतमले संविधानका अन्तर्वस्तुमा सहमति खोज्न सर्वपक्षीय भेला गर्न सकिए पनि त्यस्तो सभाबाट संविधान जारी नहुने बताए । उनले भने, “संविधान सभाभन्दा बाहिर गएर कुनै पनि काम गर्न सकिंदैन ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>