समाचारबिहीबार, भाद्र १९, २०७१
मन्त्रिपरिषद् बैठकः विभिन्न संस्थाहरुमा नियुक्ति
१९ भदौमा बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय बिमा संस्थानको प्रशासकमा अश्विनीकुमार ठाकुर, राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा डा. रेवतबहादुर कार्की, शुक्लाफाँटा जग्गा अधिग्रहण तथा मुआब्जा जाँचबुझ आयोगमा पूर्व न्यायाधीश ठाकुरप्रसाद श्रेष्ठलाई नियुक्त गरेको छ ।
त्यसैगरी अधिकार सम्पन्न एकीकृत बाग्मती सभ्यता विकास समितिको अध्यक्षमा किशोर थापा, नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशकमा बुद्धिप्रसाद आचार्यलाई नियुक्त गरेको सञ्चारमन्त्री मिनेन्द्र रिजालले जानकारी दिए ।
बैठकले बाढीपहिरोबाट विशेष रुपमा पीडित बाँके, बर्दिया, सुर्खेत र दाङ जिल्लामा वाणिज्य तथा आपूर्ति मन्त्रीलाई स्थलगत रुपमा त्यहाँको अनुगमन गरी प्रतिवेदन तयार गर्न दिइएको जिम्मेवारीअनुरुप मन्त्रिपरिषद् बैठकमा प्रतिवेदन पेस गरिएकोमा उक्त प्रतिवेदनको कार्यान्वयन तत्काल गराउने निर्णय पनि गरेको छ ।
उपप्रधान एवम् गृहमन्त्री वामदेव गौतम, अर्थमन्त्री डा. रामशरण महत, वाणिज्य तथा आपूर्ति मन्त्री सुनिल थापा र मुख्य सचिव लीलामणि पौडेलसमेत बसेर प्रतिवेदनको कार्यान्वयनबारे आजै टुङ्गो लगाइने सञ्चारमन्त्री मीनेन्द्र रिजालले बताए ।
त्यस्तै सरकारले वार्षिक रुपमा प्रदान गर्ने उत्कृष्ट निजामती सेवा पुरस्कार र निजामती पुरस्कार २२ भदौमा नै प्रदान गर्न सक्ने गरी निर्णय गरेको छ ।
