समाचारबिहीबार, भाद्र १९, २०७१
अदालतमा नयाँ बहस थाल्नुपर्छ: पूर्व प्रधानन्यायाधीश उपाध्याय
आइएलए नेपालले १९ भदौमा गरेको पत्रकार सम्मेलनमा पूर्व प्रधानन्यायाधीश उपाध्यायले नागरिक तथा राजनीतिक अधिकारका विषयसँगै अदालतमा सामाजिक, आर्थिक तथा सांस्कृतिक अधिकारको मुद्दालाई प्रवेश गराउनुपर्ने बताए ।
उनले भोकमरी, खाने पानी, बेरोजगारी, शिक्षाजस्ता विषय नेपालका समस्या भएकाले यस्ता विषयमा न्याय क्षेत्रले चासो देखाउनुपर्नेमा जोड दिए ।
‘‘नेपाल संयुक्त राष्ट्र संघको पक्ष राष्ट्र भएकाले नयाँ बहस प्रारम्भ थाल्नुपर्छ,’’ उपाध्यायले भने ।
यसका लागि न्यायक्षेत्रमा क्रियाशील र पत्रकारले बढी चासो देखाउनुपर्ने उनको भनाई थियो ।
दक्षिण एशियामा सामाजिक, आर्थिक तथा सांस्कृतिक अधिकार विषयक तीनदिने सम्मेलनबारे जानकारी गराउन आइएलएले पत्रकार सम्मेलनको आयोजना गरेको हो ।
२० भदौदेखि तीनदिनसम्म चल्ने अन्तराष्ट्रिय सम्मेलनमा बेल्जियम, वेलायत, युनिसिया र नेपालका कानून विज्ञले कानून ब्यवसायीहरुलाई प्रशिक्षण दिने आइएलएका उपाध्यक्ष इला शर्माले जानकारी दिइन् ।
सम्मेलनको उद्घाटन राष्ट्रपति डा. रामवरण यादवले गर्ने कार्यक्रम तय भएको छ ।
