थप समाचारशुक्रबार, भाद्र २०, २०७१
एमाले कार्यालयपछि रेडक्रसमा चोरी
१९ भदौ राति नेपाल रेडक्रस सोसाइटी गोरखा शाखा कार्यालय भवनका कोठा तोडफोड गरी रु १६ हजार चोरी भएको छ । १८ भदौ राति नेकपा एमालेको पार्टी कार्यालय गोरखामा तोडफोडसहित रु ७०० चोरी भएको थियो ।
गोरखा नगरपालिका–३ स्थित हरमटारीमा रहेको रेडक्रसको भवनका पाँचवटा कोठाको ताला फोरेर नगद चोरी भएकोे शाखा सभापति यदुविलाश भट्टराईले जानकारी दिए । कार्यालयमा रहेका अन्य सामग्री ल्यापटप, कम्बललगायतका सामान र कागजात भने जस्ताको त्यस्तै छन् ।
“जुनियर रेडक्रस सोसाइटीहरुले बाढीपहिरोपीडितहरुका लागि सङ्कलन गरी पठाएको राहत रकम चोरी भयो”, सभापति भट्टराईले भने, “भण्डारण कक्ष, सभाहल, सभापतिको कोठालगायत पाँचवटा कोठाको ढोका फोरेको अवस्थामा छ ।”
गोरखा बजारमा केही दिनदेखि शृङ्खलाबद्धरुपमा चोरीका घटना भएको भन्दै प्रहरीले विशेष सुरक्षा टिम परिचालन गर्ने जनाएको छ ।
रासस
