थप समाचारशुक्रबार, भाद्र २०, २०७१

नेपाली स्रोत नेपाली शैली

हिमालखबर

-रामजी दाहाल

ग्रामीण शिक्षा तथा विकास (रीड) नेपालको पहलमा पनौतीको यलाखे टोलमा संचालित ज्ञान विकास सामुदायिक पुस्तकालय अहिले जो–कोहीका लागि आकर्षण बनेको छ। रु.८० लाखमा निर्मित सामुदायिक पुस्तकालय भवन नेपाली वास्तुकलाको हिसाबले पनि महत्वपूर्ण बनेको छ। दुई वर्षमा बनेको नेपाली शैलीको यो भवनको छानामा झिगटी राखिएको छ।

भवनको भित्री भागमा सिमेन्ट प्रयोग गरिए पनि बाहिरबाट चुनसुर्कीको टिपकार गरिएको छ। यो परम्परागत नेपाली घरको डिजाइन लामो समयदेखि सम्पदा संरक्षणमा लागेका रवीन्द्र पुरीले गरेका हुन्। नेपालीहरूकै पैसाबाट बनेको यो सामुदायिक पुस्तकालय भवनको महत्व आफ्नो ठाउँमा छँदैछ। यो पुस्तकालयको निर्माण नै रीड नेपालको ‘नेपालीले सक्छौं’ अभियानबाट संभव भएको हो।

पुस्तकालय अभियान

नेपालमा सामुदायिक पुस्तकालय अभियानको नेतृत्व गरेको रीड नेपालले स्थापनाको २० वर्षमा तीन वर्षअघि ‘नेपालीले सक्छौं’ अभियान थालेको थियो। संस्थाकी राष्ट्रिय निर्देशक सन्जना श्रेष्ठ पूरा गर्नु निकै चुनौतीपूर्ण भए पनि हात पसार्ने बानी हटाउन यो अभियान चलाएको बताउँछिन्। “पुस्तकालयको लागि नेपालीकै खल्तीबाट रु.८० लाख निकाल्नु निकै चुनौतीपूर्ण लागेको थियो”, सन्जना भन्छिन् “तर, हामीले राम्रो साथ पायौं, रु.८० लाख ६१ हजार सजिलै जुट्यो।”

सामुदायिक पुस्तकालय स्थापना र संचालनमा रीडले पहिल्यै आर्जन गरेको विश्वासले पनि यसमा काम गरेको सन्जनाको अनुभव छ। उनका अनुसार, यो अभियानमा स्थानीय विकास मन्त्रालय, काभ्रे जिविस, सांसद् विकास कोष तथा विभिन्न संस्था र व्यक्तिहरूले खुला दिलले सहयोग गरेका छन्। “स्थानीयहरूले पुस्तकालय स्थापनाका लागि देउसी–भैलो कार्यक्रम चलाए, कतिले जन्मदिन मनाउँदा गरिने खर्च समेत जम्मा गरे”, उनले भनिन्, “नेपालीले आफ्नै लगानीमा पुस्तकालय संचालन भएको हेर्न सम्पदा तथा संस्कृतिविज्ञ रवीन्द्र पुरीले पनि रु.१ लाख सहयोग गर्नुभयो।”

'निकै चुनौतीपूर्ण भए पनि हामीले राम्रो साथ पायौं।' सन्जना श्रेष्ठ

रीड नेपालले सन् १९९१ मा सोलुखुम्बुको जुनबेंसीबाट थालेको सामुदायिक पुस्तकालय यात्रा काभ्रेको पनौतीमा आइपुगेको छ। जुनबेंसी सामुदायिक पुस्तकालय रीड ग्लोबलका संस्थापक डा. एन्टोनिया न्यूवरको नेपाल यात्राको परिणाम थियो। त्यसयता रीड ग्लोबलको सहयोग र रीड नेपालको संयोजनमा नेपालभर ५९ वटा सामुदायिक पुस्तकालय बनिसकेका छन्। पर्सा, नवलपरासी, दाङ र बर्दिया जिल्लामा निर्माणाधीन चार वटा पुस्तकालय दुई वर्षभित्र संचालनमा आउने रीड नेपालका फिल्ड को–अर्डिनेटर चीनकाजी श्रेष्ठले बताए।

यी पुस्तकालयहरू सामुदायिक विकास केन्द्रका रूपमा चिनिन्छन्– बालबालिका, महिला र वृद्धवृद्धा गतिविधिका लागि छुट्टाछुट्टै कक्षा पनि हुने भएकोले। पुस्तकालयका त्यस्ता कक्षाले स्थानीयवासीको सीप अभिवृद्धि र आयआर्जनमा सघाउँछ। त्यसबाहेक पुस्तकालयको दिगोपनका लागि अरू किसिमका कार्यक्रमहरू पनि संचालन गरिन्छ। जस्तो, चितवनको झुवानी सामुदायिक पुस्तकालयले एम्बुलेन्स सेवा र महिला बचत तथा ऋण सहकारी संचालन गरेको छ भने काठमाडौं भीमढुंगामा गाईपालन र स्याङ्जामा सामुदायिक रेडियो संचालन गरिएको छ। सामुदायिक पुस्तकालयले समुदायको चौतर्फी विकासमा पुर्‍याएको योगदानको कदर गर्दै बिल एण्ड मेलिण्डा गेट्स फाउण्डेशनले रीड नेपाललाई ९ वर्षअघि १० लाख अमेरिकी डलर सहयोग गरेको थियो।

रीड नेपालद्वारा संचालित पुस्तकालयहरू स्थानीय समुदायको ज्ञान, सूचना र इलम विकासमा क्रियाशील छन्। महिला सशक्तीकरणमा जोड दिएका पुस्तकालयहरूले लक्षित समुदायको जीविकोपार्जनमा सहयोग पुर्‍याउन विभिन्न कार्यक्रम संचालन गरेका छन्। कतिपय पुस्तकालयले स्वास्थ्य र कृषि सम्बन्धी तालीम संचालन गर्दै आएका छन्। पनौतीको ज्ञान विकास पुस्तकालयले दिगोपनका लागि ‘सोभनिअर शप’ चलाएको छ।

अन्य ठाउँमा पनि यस्ता पुस्तकालय स्थापना गर्ने रीड नेपालको तयारी छ। १५ भदौबाट शुरू गरिने ‘कम्युनिटी लाइब्रेरी लभर्स क्याम्पेन’ त्यसैको एउटा भाग हो। यो अभियानमा दैनिक रु.१५ का दरले जम्मा गर्न ५०० जना तयार भइसकेका छन्। यस्तो असल कामलाई देशव्यापी बनाउनुपर्ने बताउने सम्पदा संरक्षणकर्मी पुरी भन्छन्, “अर्काको मुख नताकी विकसित हुन पनि यो गर्न जरूरी छ।”

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>