समाचारसोमबार, आश्विन १५, २०६९
पहिरोमा परेकामध्ये ६ को शव फेला
पहिरोले दुईवटा गाडी पुर्दा अरू ९ जना बेपत्ता छन् । भेटिएका शवमध्ये फिक्कलका ४१ वर्षीय शरण प्रधान बाहेक अन्यको सनाखत हुन सकेको छैन । घटनामा एउटा मोटरसाइकल पनि क्षतविक्षत भएको अवस्थामा भेटिएकाले बेपत्ता हुनेको सङ्ख्या बढ्न सक्ने प्रहरी निरीक्षक गणेश बास्तोलालाई उद्धृत गर्दै इलाम एफएमले जानकारी दिएको छ ।
पहिरोमा परी मे १ च २६१९ नम्बरको पिक अपबाट फिक्कल ५ का रवि गुप्ता हराएका छन । को १ ख १६१३ नम्वरको सवारी साधनवाट १७ वर्षिय सुरज तामाङ वेपत्ता भएका छन् । त्यस्तै मे १ च ११९६ नम्बरको सवारी साधन पहिरोमा अड्केको र यात्रुहरुलाई सकुशल उद्धार गरिएको छ । पहिरोमा परी घाइते भएका मे १ च ११९१ नम्वरको अल्टोमा ३५ वर्षीय सुवास प्रधान, ३५ वर्षकै पदम प्रधान र ३० वर्षीया मन्दिरा प्रधान बेपत्ता भएका छन् । पहिरोकै कारण मे १ ज १२५६ को सवारी साधनबाट दावा शेर्पा, चालक अन्जित थेम्मु, छोटेन भुटिया, आरती शेर्पा, छिरिङ केसाङ शेर्पा, विशवराज मुखिया, नाङ्गेल भुटिया र थाङ्गेल भुटिया बेपत्ता भएका छन् ।
यसैबीच विरीङ्ग खोलामा एकजनाको शव फेला परेको प्रहरीले जनाएको छ । पहिरोमा परेकाहरुको उद्धारका साथै अवरुद्ध सडक खुलाउने काम भइरहेको प्रहरीले जनाएको छ ।
पहिरोमा परेका ५ को शव प्राप्त
स्थानीय प्रहरीका अनुसार अहिलेसम्म पाँच जनाको शव फेला परेपनि पहिचान भइसकेको छैन । वेपत्ता हुनेमा पाँचजना भारतीय नागरीक र ९ जना नेपाली यात्रु रहेको प्रहरीले जनाएको छ ।
पहिरोमा परी बेपत्ता हुनेहरुमा शरण प्रधान, मन्दिरा प्रधान, सुबास प्रधान, समाल्बुङका पदम प्रधान, तथा अजित योल्मु, रबि गुप्ता, सरोज तामाङ र भारत सुकियाका ग्याल्जे शेर्पाको सात जनाको परिवार बेपत्ता भएको जनाइएको छ ।
शेर्पाको परिवार झापाको दमकबाट घर फर्कने क्रममा पहिरोमा परेको हो । मे १ च २६१९ नम्बर पिकअपका चालक रोसन तामाङ घाईते अवस्थामा सम्पर्कमा आएको र उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको जनाइएको छ ।
उद्धारमा अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रस र स्थानिय बासिन्दा लागेका छन् । राति गएको पहिरोले त्यस क्षेत्रमा रहेका दुइवटा बिजुलीको पोल बगाउँदा कोल्बुङ गाबिस अहिले अन्धकार भएको छ भने, पहिरोको कारण राजमार्ग समेत अबरुद्ध भएको छ ।
झापा र इलाम तर्फबाट गएका दुबै डोजरले एउटा पिकअप जीपको निकालेका छन् । हराइरहेका यात्रुहरुको खोजिकार्य र सडक खुलाउने कार्य एकसाथ अगाडी बढाइएको प्रहरीले बताएको छ ।
मेची राजमार्गमा भिषण पहिरो, दुईको शव फेला, १२ अँझै वेपत्ता
मेची राजमार्गअन्तर्गत इलामको कोल्बुङको कुटीडाँडा र हर्कटेबीचको पाथीभारा चढ्ने मार्गमा १४ असोज राति करिब ९ बजे गएको भीषण पहिरोमा चार गाडी पुरिएको छ भने करिब बाह्र व्यक्ति बेपत्ता भएका छन् ।
सशस्त्र प्रहरीका अनुसार पुरिएका गाडीमध्ये सेन्ट्रोकारमा पुरिएका शरणप्रधानको शव घटनास्थलभन्दा करिब १५० मिटर तल फेला परेको छ भने झापाको सीमामा पर्ने विरिङ् खोलामा एक महिलाको शव फेला परे पनि पहिचान हुन नसकेको
भीषण पहिरामा परी दुई गाडी ट्रक्राटुक्रा भइसकेको र दुई गाडी सडकमा पुरिएको छ । गाडीमा सवार दस जनालाई उद्धार गरिएको छ भने करिब एक दर्जन बेपत्ता रहेको इलामका प्रजिअ बाबुराम खतिवडाले जानकारी गराउनुभयो ।
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका तर्फबाट खटिएका छन्, दुईवटा गाडीको क्षतविक्षत भागको सङ्कलनका साथै बेपत्ता व्यक्तिको खोजी गर्ने कार्य र पहिरो हटाउने कार्य भइरहेको छ । ठाउँ ठाउँमा गरी करिब तीन किलोमिटर क्षेत्रमा पहिरो गएकाले हटाउन धेरै समय लाग्ने सक्ने प्रजिअ खतिवडाले वताउनुभयो । भीषण वर्षापछि माथिबाट आएको पहिराबाट उक्त गाडी पुरिएको हो ।
