समाचारशुक्रबार, भाद्र २०, २०७१
बहालवाला सचिवलाई कारबाही गर्न अख्तियारको निर्देशन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २० भदौमा सरकारलाई पत्र लेखी सचिव श्रीधर गौतमले एलएम सुभिर ब्रदर्स टे«डिङले गोकर्ण रिसोर्टको शेयर बिक्री गर्न नेपाल ट्रस्टमा दिएको निवेदनमाथि सुनवाइ नगरेको भन्दै कारबाहीका लागि सिफारिस गरेको छ ।
केही दिनअघि मात्र सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा भएका सचिव गौतम ट्रस्टको सचिव रहँदा सुभिर ट्रेडिङ ब्रदर्स प्रालिले गोकर्ण फरेस्ट रिसोर्टको शेयर बिक्री गर्न दिएको निवेदनमाथि सुनुवाइ नगरेको आयोगले जारी गरेको विज्ञप्तिमा जनाएको छ । सो रिर्सोट पूर्वराजपरिवारको लगानी भई हाल ट्रस्टअन्तर्गत सञ्चालनमा छ ।
ट्रेडिङले आफ्नो स्वामित्वमा रहेको सेयर यति होल्डिङ प्रालिलाई बेच्ने भन्दै २०६७ साउन ११ गते निवेदन दिएकामा गौतमको ढिलासुस्तीले लगानीकर्ता निरुत्साहित भएको आयोगले जिकिर गरेको छ ।
ट्रस्टले गठन गरेका विभिन्न समिति र महान्यायाधिवक्ता कार्यालयले समेत शेयर बिक्री वितरण गर्न अख्तियारी प्रदान गरिसकेका सन्दर्भमा उचित निर्णय नगरेको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ ।
अख्तियार प्राप्त निकायले समेत सो सम्बन्धमा तत्काल निर्णय गर्न दिएको निर्देशनलाई कार्यान्वयन नगरी सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४ र आयोग ऐन, २०४८ विपरीत प्रतिकूल हुने कार्य गरेको र सञ्चालक समितिमा छलफल नै नभएको विषयलाई निर्णय पुस्तिकामा लेखी झुक्याउने कार्य गरेको आयोगको विज्ञप्तिमा उल्लेख छ ।
आयोगले ट्रस्ट सञ्चालक समितिले तत्कालीन समयमा गरेका कार्य विद्यमान कानुनको प्रतिकूल रहेको देखिएकाले सेयर बिक्रीका सम्बन्धमा जो जे निर्णय लिनुपर्ने हो अविलम्ब लिई आयोगलाई जानकारी गराउन सञ्चालक समितिको ध्यानाकर्षण गराएको छ ।
मुद्दा शाखाका कर्मचारीविरुद्ध मुद्दा
आयोगले काठमाडाँै जिल्ला प्रशासन कार्यालयका मुद्दा शाखामा कार्यरत छविराम काफ्लेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
काफ्ले हातहतियार तथा खरखजाना मुद्दा मिलाइदिने भन्दै सोही मुद्दाका अभियुक्त सविन ठकुराठीसँग रु ३० हजार घुस लिँदालिँदै थलोमा नै पक्राउ परेका थिए । उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार हदैसम्मको कारबाहीको माग गरिएको छ ।
