समाचारशुक्रबार, भाद्र २०, २०७१
३१ दलको बैठक विना निष्कर्ष टुङ्गियो
संवैधानिक राजनैतिक सम्वाद तथा सहमति समितिको अगुवाईमा २० भदौमा बसेको बैठकमा कार्यतालिका अनुरुप संविधान निर्माण गर्ने की सहमतिका माध्यमले कार्यतालिकालाई केही हेरफेर गर्ने भन्ने विषयमा दलहरुले आ– आफ्नो धारणा राखे पनि कुनै सहमति हुन सकेन ।
समितिले २१ भदौसम्म संविधानका सवै विषयवस्तुमा सहमति र असहमतिको प्रतिवेदन तयार गरी सभामुखसमक्ष पेस गर्नुपर्ने कार्यतालिका रहेको छ ।
समितिमा निरन्तर दलहरु बीचमा छलफल गर्दा पनि संविधानको मुख्य अन्तरवस्तु राज्यको पुन संरचना, शासकीय पद्धति, न्याय प्रणाली र निर्वाचन प्रणालीका विषयमा सहमति जुट्न सकेको छैन ।
बिहान प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताको बैठकले संविधानसभामा प्रतिनिधित्व गर्ने दलसँग छलफल गर्ने विवादित ती विषयमा समान धारणा तय गर्ने भनी गरेको निर्णयबमोजिम बैठक बसेको थियो ।
बैठकमा संविधानसभामा प्रतिनिधित्व गरेका ३१ राजनीतिक दल र स्वतन्त्र सांसदहरुले कार्यतालिका अनुरुप संविधान निर्माण गर्ने की सहमतिका माध्यमले कार्यतालिका हेरफेर गर्ने भन्ने विषयमा आ आफ्नो धारणा राखेका थिए ।
नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुले कार्यतालिका अनुरुप काम गर्न आवश्यक भएको भन्दै संवैधानिक राजनैतिक सम्वाद तथा सहमति समितिमा सहमति हुन नसकेका विषयलाई संविधानसभामा पेस गर्नुपर्ने सुझाव राखेका थिए भने एमाओवादी नेताहरुले सहमतिका लागि म्याद थप गर्ने धारणा राखेको थिए ।
