समाचारशनिबार, भाद्र २१, २०७१

बीपी विचार यात्रा समापनको तयारी शुरु

हिमालखबर

बीपी विचार यात्रा समापनका लागि नेपाली कांग्रेस जिल्ला कार्य समिति काठमाडौंले विभिन्न तयारी शुरु गरेको छ ।

२३ भदौमा काठमाडौं आइपुग्ने यात्रालाई त्यस दिन मोटरसाइकल र्‍यालीसहित नगर परिक्रमा गराई दिउँसो विशालनगर चोकमा रहेको पाटीमा विशाल सभा गरिने छ । जुन पाटीमा बिपी कोइरालालाई २००७ सालको क्रान्ति अगाडि बन्दी अवस्थामा ल्याएर राखिएको थियो ।

तत्कालिन सरकारले बीपीलाई पक्राउ गरेको विराटनगरको जुटमिलबाट मोरङ, सुनसरी, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुंगा, रामेछाप, सिन्धुली, काभ्रे, भक्तपुर हुँदै काठमाडौंको सुन्दरीजल ल्याउँदाको मार्ग पच्छ्याउँदै ‘बीपी विचार यात्रा’ २४ भदौमा सुन्दरीजलमा सभा गरी समापन हुँदैछ ।

बीपीको राजनैतिक, आर्थिक सामाजिक चिन्तन एवं विचारलाई जनस्तरसम्म पुर्‍याउने उद्देश्यले यात्रा आयोजना गरिएको नेपाली कांग्रेसले जनाएको छ ।

२४ भदौ बिहान ११ बजे निर्माणाधिन राष्ट्रिय शहिद तथा शान्ति पार्क स्मारक गोकर्णमा जम्मा भएर बिपी जन्म शतवार्षिकीको अवसरमा सयवटा बिरुवा रोपिने कार्यक्रम छ ।

गोकर्णमा वृक्षरोपणपछि सुन्दरीजलसम्म तीन किलोमिटर पैदल यात्रा गरेर बिपी सङ्ग्रहालयमा पुगी विपी विचार यात्राको समापन कार्यक्रम गर्ने तय गरिएको कांग्रेसका ३ नं क्षेत्रीय सभापति एवम् पूर्व सभासद् चक्रबहादुर ठकुरीले बताए ।

समापन सभालाई प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले सम्बोधन गर्नेछन् ।

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालालाई २०१७ साल पुस १ गते ‘कु’ गरी तत्कालीन सुन्दरीजल आर्सनलका प्रमुख बस्ने भवनमा बन्दीगृह निर्माण गरी राखिएको थियो ।

त्यस समयमा यो बन्दीगृहलाई सुन्दरीजल बन्दीगृह भनेर आम मानिसले चिन्दथे । तर पञ्चायत सरकारले भने यसलाई गैँडा गस्ती नाम दिएको थियो ।

विसं २०२५ मा यस बन्दीगृहबाट छुटेका कोइरालाले २०३३ सालसम्म भारतमा प्रवास जीवन बिताएका थिए । २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै सून्दरीजल बन्दीगृह लगी कोइरालालाई फेरि बन्दी बनाइएको थियो ।

सुन्दरीजल बन्दीगृह बसाइका क्रममा बिपीले साहित्य सिर्जनासमेत गरेका थिए ।

बिपीको दोषी चस्माबाहेक सबै साहित्यिक कृति सुन्दरीजल बन्दीगृह बसाइकै क्रममा रचना गरिएको बिपीको साहित्यिक कृतिका विषयमा अनुसन्धान गरेका ज्ञाननिष्ठ ज्ञवालीले बताए ।

बिपी जीवनमा सबैभन्दा बढी समय बसेको ठाउँ यही बन्दीगृह भएको बिपी सङ्ग्रहालयका अध्यक्ष परशुराम पोख्रेल बताउँछन् । जुन बन्दीगृहलाई पोख्रेललगायतका व्यक्तिहरुको सक्रियतामा २०६१ भदौ २४ गते बिपी सङ्ग्रहालय घोषणा गरिएको थियो ।

यही सम्झनामा नेपाली कांग्रेसले बिपी विचार यात्राको समापन बिपी सङ्ग्रहालयमा गर्न लागेको हो ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>