थप समाचारआइतबार, भाद्र २२, २०७१
कतारमा बेपत्ता पारिएका दुई नेपाली सुरक्षित
“म ठिक छृु, मलाई राम्रोसँग राखिएको छ, चाँडै घर आउनेछु । हामी हाम्रा कागजातसम्बन्धी समस्याले गर्दा पक्राउ परेका रहेछौं,” कतारमा पक्राउ परेका बेलायती राहदानी बाहक कृष्ण घिमिरेले पठाएको यो सन्देश बेलायती अधिकारीले उनका परिवारलाई दिएका छन् ।
बेलायती कुटनीतिक अधिकारीले कतारी सुरक्षा नियन्त्रणमा रहेका कृष्ण घिमिरे र गुणदेव घिमिरेलाई ६ सेप्टेम्बरमा भेटेको उनीहरु कार्यरत संस्था जीएनआरडीले जनाएको छ ।
कतारको विदेशमन्त्रालयले अन्तर्राष्ट्रिय कानून उल्लंघन गरेकाले उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।
लामोसमयदेखि बेलायतमा बसोबास गर्दै आएका बेलायती राहदानी बाहक उपाध्याय र घिमिरे कतारमा कार्यरत नेपाली मजदुरहरु बारे नर्वेली च्यारिटी संस्था जीएनआरडीका तर्फबाट वृत्तचित्र निर्माणका लागि दोहा पुगेका बेला त्यहाँका सुरक्षाकर्मीले केही दिन पिछा गरेपछि गत आइतबार पक्राउ गरेका थिए ।
शुरुमा उनीहरुको अवस्था अज्ञात रहे पनि जीएनआरडी, बेलायत सरकार र अधिकारकर्मीहरुको चर्को दबाबपछि कतार विदेशमन्त्रालयले उनीहरु सुरक्षित रहेको भन्दै विज्ञप्ति निकालेको हो ।
जीएनआरडीले उपाध्याय र घिमिरेद्वयलाई चाँडै घर फर्काउन आफूले कुनै कसर बाँकी नराख्ने पनि जनाएको छ ।
