थप समाचारसोमबार, भाद्र २३, २०७१
कम्प्युटर किन्न रु.१ अभियान
पाठ्यक्रमको कम्प्युटर विषय प्रयोगात्मक हिसाबले पढाउन तनहूँको विकट कोटा गाविसको एक विद्यालयले ‘एक रुपैयाँ अभियान’ चलाएको छ । यो अभियान अनुसार, सदरमुकाम दमौलीबाट एक दिन पैदल हिंडेपछि पुगिने जुनोदय निमावि, छेरङ्गाले अभिभावक र अन्य इच्छुकसँग रु.१ उठाउन थालेको छ ।
विद्यालयका प्रधानाध्यापक खड्ग आलेले जिल्ला शिक्षा कार्यालयले कम्प्युटर शिक्षा अनिवार्य रूपमा लागू गर्न निर्देशन दिएकोले कम्प्युटर किन्न चन्दा उठाइएको बताए । गत वर्षदेखि कम्प्युटर पढाउन थालेको यो विद्यालयका करीब डेढसय विद्यार्थीका लागि यसअघि एउटै कम्प्युटर थिएन ।
कम्प्युटरका लागि शिक्षा कार्यालयलाई अनुरोध गरे पनि तत्काल दिन नसकिने बताएको आले बताउँछन् ।
जिल्ला शिक्षा कार्यालय अन्तर्गतको देवघाट स्रोत केन्द्रले मातहतका सबै मावि तथा निमाविमा कम्प्युटर विषय अनिवार्य गरेर शिक्षकलाई तालीम पनि दिएको छ । बजेट सीमित भएकाले विद्यालयहरूलाई कम्प्युटर भने दिन नसकिएको शिक्षा कार्यालयले जनाएको छ ।
प्रधानाध्यापक आलेका अनुसार, विद्यालयले फेसबुक पेज समेत बनाएर एक रुपैयाँ चन्दा माग्न थालेको छ । फेसबुक मार्फत देश–विदेशबाट सकारात्मक जवाफ आएकाले चाँडै नै ब्याङ्क खाता खोल्न लागिएको उनले बताए । तत्काल पाँच वटा कम्प्युटर किन्न रु.३ लाख चाहिने उनी बताउँछन् ।
पवन पौडेल, तनहुँ

