समाचारमंगलबार, भाद्र २४, २०७१

राजनीतिक सम्मेलन तीन महिनासम्मः गुरुङ

हिमालखबर

रिपोर्टर्स क्लब नेपालले २४ भदौमा आयोजना गरेको साक्षात्कारमा नेकपा–माओवादीका सचिव देव गुरुङले प्रधानमन्त्री कोइराला अमेरिका जानु अघिल्लो दिन २ असोजमा प्रधानमन्त्रीसहित पहिलो चरणको प्रारम्भिक सम्मेलन गर्न सकिने बताएका छन् ।

“प्रधानमन्त्रीले शुरु गरेको प्रयास भएकोले उहाँ हुँदा सहज हुन्छ तर, उहाँ नहुँदा पनि फरक पर्दैन,” उनले भने, “उहाँको ठाँउमा कार्यबाहक प्रधानमन्त्री र सभापति भई हाल्नु हुन्छ । सम्मेलनमा संस्थाको प्रतिनिधित्व हुने हो ब्यक्ति नहुँदा केही फरक पर्दैन ।”

गुरुङले चार दलले चार वर्षसम्म टुङग्याउन नसकेको संविधानका अन्तर्वस्तुमा तत्कालै सहमति जुटाउन सक्ने अवस्था नरहेको भन्दै छलफलले लामो समय लिन सक्ने बताए ।

उनले भने, “चार दल छलफलको नाममा झारो टार्ने काम गर्न खोज्दैछन, त्यसरी हतारमा काम हुन सक्दैन ।”

उनले सम्मेलनले सहमति जुटाउन दुई तीन महिना लाग्ने सक्ने बताए ।

संविधान साझा दस्तावेज हुने भएकोले मुलभुत विषयहरुमा आफूहरु ‘गिभ एण्ड टेक ’ गरेर सहमति कायम गर्न तयार रहेको भन्दै उनले संविधान सहमति र शक्ति सन्तुलनको दस्तावेज हुने भएकोले सबैको भावना समेटेर निर्माण गर्नु पर्ने बताए ।

गुरुङले भने, “संविधान बनाउने नाममा केवल औपचाकितामात्र पुरा गर्न खोजे त्यो मुलुकको लागि दुर्भाग्य पूर्ण हुन्छ । संविधान फेरि पनि बन्दैन ।”

तीन प्रमुख दलहरुले नेकपा–माओवादीको माग अनुसार राष्ट्रिय राजनीतिक सम्मेलन गर्ने सहमति गरेका छन् । गुरुङले भने अनुसार सम्मेलन दुई तीन महिनासम्म चल्ने हो भने कार्यतालिका अनुसार संविधान बन्न सक्दैन ।

वैद्यको नेतृत्वमा संयन्त्र
सम्मेलनमा संविधानका अन्तर्वस्तुमा मात्र छलफल हुने भएकोले बाँकी रहेका शान्ति प्रक्रिया र राष्ट्रिय महत्वका सन्धी सम्झौताका कुराहरुलाई छलफल गर्न चार दलको संयन्त्र बनाउनु पर्ने उनको धारणा छ ।

गुरुङले भने, “पहिला हामी यो संयन्त्रको विरोधमा थियौ तर, सम्मेलनमा संविधान निर्माणका विषयमा मात्र छलफल गर्ने सहमति भएकोले उच्चस्तरीय राजनीतिक संयन्त्रको आवश्यकता महशुस गरिएको हो ।”

सञ्चारकर्मीहरुको जिज्ञासामा उनले नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्य संयोजक हुनु पर्ने धारणा राखे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>